images
images
  • रोनाल्डोमा मात्र निर्भर छैन पोर्चुगल

    लिस्बोन – पछिल्लो दुई दशकयता जब पोर्चुगल अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिन्थ्यो, सधैं नजर क्रिस्टियानो रोनाल्डोमै हुन्थ्यो। विश्वकप र युरोपियन च्याम्पियनसिपमा पोर्चुगलको सफलता रोनाल्डोमै निहित हुन्थ्यो। रोनाल्डो लयमा रहे पोर्चुगलको नजिता राम्रो, उनी नचले टिमलाई नै संकट जस्तै थियो।

    कतारमा फेरि एक पटक पोर्चुगिज टिमका सबैभन्दा ठूला स्टार रोनाल्डो नै हुनेछन्। तर, यसपाली पोर्चुगलका लागि भने रोनाल्डोभन्दा महत्त्वपूर्ण अरु खेलाडी हुनेछन्।

    कीर्तिमानी गोलकर्ता रोनाल्डो पछिल्लो समय करिअरमै पहिलो पटक ‘डाउनफल’मा छन्। र, यो विश्वकप उनको अन्तिम हुने करिब निश्चित छ। यसपाली उनी निर्विरोध पहिलो रोजाइका खेलाडी हुन् भन्न सकिने अवस्था पनि छैन।

    रोनाल्डोले पछिल्लो समय युनाइटेडमा धेरै समय खेल्न पाएका छैनन्। यस्तै पोर्चुगिज टिममा पनि उनी बेन्चमा थन्किन थालेका छन्, जुन थोरै समयअघि कल्पनाभन्दा बाहिरको कुरा थियो।

    ‘यो रणनीतिक र प्राविधिक निर्णय थियो,’नेसन्स लिगको खेलमा स्पेनविरुद्ध रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक फर्नान्डो सान्तोषले गत जुनमा भनेका थिए।

    अहिले सान्तोषसँग धेरै खेलाडी छन्, जो रोनाल्डोसँगै केन्द्रविन्दुमा पर्न सक्छन्। पोर्चुगलले प्रतिभावान् नयाँ पुस्ताका खेलाडी पाएको छ। बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुवा फेलिक्स र राफा सिल्भा त्यसका उदाहरण हुन्।

    प्रिमियर समर्थन

    रोनाल्डोसँगै मैदानमा उत्रिने केही खेलाडी अहिले इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट लयमा छन्। सिल्भा म्यानचेस्टर सिटीको पहिलो रोजाइमा निरन्तर खेलिरहेका छन्। उनी मात्रै होइन, उत्कृष्ट लयमा रहेका सिटीको रक्षापंक्तिका दुई आधारस्तम्भ जुवा कान्सेलो र रुबेन डियाज पनि सान्तोषको टिममा हुनेछन्।

    युनाइटेडमै रोनाल्डोका सहकर्मी ब्रुनो पनि राम्रो लयमा छन्। लिभरपुलका डिएगो जोटाले भने दुभाग्यवस विश्वकप गुमाउने छन्।

    फेलिक्सको डेब्यू

    एकातिर रोनाल्डो विश्वकपबाट बिदा हुने संघारमा छन् भने अर्कातिर फेलिक्स नयाँ पोर्चुगिज स्टार बनेर विश्वकपमा उत्रिने तयारीमा छन्। बेन्फिकामा चम्किएका फेलिक्सलाई पोर्चुगलको आगामी रोनाल्डो भनेर उनीसँगै तुलना गरिएको थियो।

    स्पेनिस ला लिगामा तीन वर्ष विताइसकेका फेलिक्स परिपक्व भएर तीन वर्ष अगाडिको चर्चालाई यथार्थमा बदल्न तयार छन्। विश्वकप खेल्दा २३ वर्षका हुने फेलिक्स पोर्चुगिज टिमको भविष्यका आस हुन्। यद्यपि, एट्लेटिको मड्रिड पुगेपछि अपेक्षित प्रदर्शन गर्न संघर्षरत फेलिक्सका लागि पुनःउदयको यो मौका हुन सक्छ।

    लामो समयपछि टिमको वातावरण घुलमिल भएका फेलिक्सले जारी सिजन राम्रो सुरुआत गरेका थिए। फेरि पछिल्लो समय उनी पर्याप्त समय पाउन संघर्षरत छन्। पोर्चुगलबाट पनि उनले धेरै समय पाइरहेका छैनन्। तर, समूह चरणका सुरुआती खेलमा प्रभावशाली प्रदर्शन गर्न सके फर्नान्डेज उनीमाथि विश्वस्त हुन सक्छन्।

    भेट्रान पेपे

    पोर्चुगलबाट सम्भवः अन्तिम विश्वकप खेल्ने तयारीमा भएका अर्का भेट्रान खेलाडी हुन्, पेपे। ३७ वर्षीय रोनाल्डोभन्दा दुई वर्ष जेठा पेपे चौथो पटक विश्वकपमा पोर्चुगिज रक्षापंक्तिको नेतृत्व गर्दैछन्।

    नेतृत्व र अचुक रक्षकको रुपमा चिनिएका पेपेले पोर्चुगलका लागि १ सय ३० खेल खेलिसकेका छन्। जुन पोर्चुगिज राष्ट्रिय टिमबाट तेस्रो सर्वाधिक खेल संख्या हो। उनले पोर्चुगलबाट चार पटक युरोपियन च्याम्पियनसिप खेलेका छन्। जसमध्ये २०१६ मा उनको टिम च्याम्पियन बनेको थियो।

    भेट्रान डिफेन्डर पेपे चोटका कारण पूर्ण तयार हुन्छन् कि हुँदैनन् भन्ने यकिन छैन। तर, यदि फिल्डमा उत्रिन्छन् भने उनको प्रभाव स्पष्ट देखिन्छ।

    पछिल्लो निराशा

    पोर्चुगलले २०१६ मा युरोपियन च्याम्पियनसिप जितेर अन्तर्राष्ट्रिय फुटबलको पावरहाउस हो भन्ने संकेत दिएको थियो। तर, त्यसता विश्वकप २०१८ र युरो २०२० को अन्तिम १६ पार गर्न सकेको छैन।

    विश्वकपमा सोझै छनोट हुने खेलमा सर्बियासँग पराजित हुनु, नेसन्स लिगको अन्तिम चरणमा स्पेनविरुद्ध घरेलु मैदानमा पराजित हुनुले पोर्चुगिज टिम र प्रशिक्षकमाथि पनि प्रश्न उठाएको छ।

    बलियो टिम हुँदाहुँदै पनि नतिजा ननिस्कँदा यही टिम अरु प्रशिक्षकको नेतृत्वमा सफल हुन सक्छ रु भन्ने प्रश्नले चर्चा पाएको थियो।

    ‘मलाई केही चिन्ता छैन,’आफूप्रति ब्युतिएको शंकाबारे प्रतिक्रिया दिँदै सान्तोषले भने, ‘मेरो सम्झौता २०२४ सम्म छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images