काठमाडौं-संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवन राम श्रेष्ठले विदेशी मदिरा आयात प्रतिबन्ध खुलाउन मन्त्री परिषदमा प्रस्ताव लैजाने तयारीमा रहेकाे बताएका छन् ।
लामो समयदेखि विदेशी मदिरा आयातको रोक लगाएसँगै मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको भन्दै मन्त्री श्रेष्ठले बिहीबार मन्त्रीपरिषदमा यस्तो प्रस्ताव लगेका हुन्। विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वैशाखदेखि मदिरा आयातमा पूर्ण प्रतिबन्ध लाग्दै आएको छ। यसबीच अन्य केही वस्तुको आयात खुला गरिएपनि मदिरा, सवारीसाधन, महँगा मोबाइललगायतको प्रतिबन्ध कायमै छ। यस्तो प्रतिबन्ध आगामी मंसिरसम्म रहनेछ।
‘पर्यटनसँग मदिरा जोडिएकाले मदिरा आयात प्रतिबन्ध खुलाउन प्रस्ताव लगेको हुँ’ मन्त्री श्रेष्ठले भने, ‘प्रस्तावपछि प्रधानमन्त्री सकारात्मक हुनुभएको छ, तिहारपछि यो विषय छलफल गरेर निर्णय हुनेछ।’
यसअघि सरकारले गत वैशाखबाट मदिरा आयातमा रोक लगाएको थियो। मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै यसको असर कोरोना माहामारीसँगै चलयमान बन्दै गएको होटल उद्योगमा परेको व्यवसायीहरू बताउँछन्।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक अर्ब ४९ करोड ७१ लाख रूपैयाँको तयारी मदिरा आएको थियो। सबै प्रकारका १२ लाख ५० हजार लिटर बराबरका तयारी मदिरा आयात भएको हो।


विश्व खबर 


















