images
images
  • प्रदेश–१ को प्रोटेस्ट सदर हुँदा एनआरएनएका ८ खेलाडीले बाँकी खेल गुमाउने

    पोखरा- गैरआवसीय नेपाली संघ (एनआरएनए) बाट नवौं राष्ट्रिय खेलकुदमा फुटबलको उद्घाटन खेल खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने भएका छन् ।

    राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्ती मगर, सुजल श्रेष्ठलगायतका खेलाडीहरु एनआरएनएले प्रदेश १ विरुद्ध खेलाएपछि फुटबल सुरुमै विवादित बनेको थियो । त्यसपछि प्रदेश १ ले ८ खेलाडी एनआरएनएको नभएको भन्दै उजुरी हालेको थियो ।

    नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्राविधिक उपसिमितिले ती खेलाडीमाथिको उजुरी सदर भएको र अब उनीहरुले बाँकी खेल खेल्न नपाउने बताएको छ । ‘उजुरी परेका ८ खेलाडीले बाँकी खेल खेल्न पाउँदैनन् । प्रोटेस्ट परेका ८ खेलाडी एनआरएनए भएको देखिएन । त्यसैले अब नतिजा पनि प्रदेश १ को पक्षमा जानेछ’, प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले भने ।

    गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा विमल घर्ती मगर र संजोक राईको गोलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको थियो । अब उक्त नतिजा उल्टिएको छ । गोल गरेका विमल र संजोकसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, निशान खड्का र अशोक खवास एनआरएनएको खेलाडी नभएको भन्दै बिहीबारको खेलपछि नै प्रदेश १ ले उजुरी गरेको थियो ।

    खेलअघि नै एनआरएनएले नवौं राष्ट्रिय खेलकुदको निर्देशिका विपरीत नेपाली राष्ट्रिय खेलाडीलाई खेलाउन लागेको भन्दै विरोध जनाएको छ । जसले गर्दा खेल नै ढिला सुरु भएको थियो । पछि एन्फा उपाध्यक्ष दावाल लामाले खेलपछि उजुरी हाल्न पाउने बताएपछि प्रदेश १ खेल्न तयार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images