images
images
  • माछापुच्छ्रे बैककाे ठगीधन्दा: कतारमा दुख गरेर पठाएकाे पैसा खाताबाटै गायव, भौचर छ तर खातामा पैसा छैन’

    रुपन्देही– ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भने, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’

    रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँडडुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन’, उनले भने ।

    सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरूले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आए । तर बैंक स्टेटमेन्टमा उनको खातामा पैसा छैन ।

    गएको साउन महिनामा नयाँ घर बनाउने भनेर जब उनले बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा ९० हजार रुपैयाँमात्र छ भनेपछि उनी छागाबाट खसे । यो अवधिमा उनले त्यो बैंकमा चार लाख रुपैयाँ जम्मा गरिसकेको बताए । अहिले उनले बैंकले नै पैसा गायब पारिदिएपछि दुःखेसो पोख्दै न्यायको खोजीमा  अचेल दिनभर प्रहरी, बैकमा भौँतारिरहेका छन् ।

    सम्मरीमाई–५ रोइनिहवाका दयारामले पनि माछापुच्छ्रे बैंकको त्यो शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ जम्मा गरे । उनको खातामा पनि त्यो पैसा छैन । खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिन गए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उनको गुनासो छ ।

    आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई ५ मा रहेको माछापुच्छ्रे बैंकको त्यो शाखारहित कार्यालयमार्फत सेवाग्राहीले जम्मा गरेकाे  भौचर छ । तर उनहरूको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।

    सेवाग्राहीले क्षमताअनुसार पाँच हजारदेखि १६ लाख रुपैयाँसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको झन्डै तीन करोड रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको उनहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

    ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेका थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गरेका थिए ।

    निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५ का वडाध्यक्ष श्रवण यादवले भने, ‘बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारबाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।’ वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशङ्कित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताए।

    बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताए । उनले भने, ‘मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।’ सेवाग्राहीको दाबी सबै सत्य नभएको र एक करोड ३२ लाख रुपैयाँमात्र अनियमित भएको उनको भनाइ छ ।

    त्यसैगरी बैंकका एजेन्ट निरञ्जन पाठकले भने, ‘यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बेला २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।’ एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उनले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए । यस सम्बन्धमा विश्वखवरले माछापुच्छ्रे बैंकका सिईओ सन्ताेष काेईरालालाई यस विषयमा बुझ्न पटक पटक फाेन गरेपनि फाेन उठाएन्न ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images