images
images
  • चिना हेराएर गरिएका वैवाहिक सम्बन्ध दीगो हुन्छ भन्थे तर…

    सुरू कहाँदेखि गरौं। अहिलेको अवस्थामा पुगेका म जस्तै निर्जीव जिन्दगी जिउन बाध्य बनेकादेखि गरौं कि! बारम्बार हिलाम्य जिन्दगी देख्दादेख्दै पनि कमल हो तेरो भाग्य भन्ने पृत्तिबाट गरौं ? या त्यो स्पर्शबाट गरौं जसको सामिप्यता मृत्युतुल्य छ।

    आफूभन्दा ‘तल्लो’ जातको केटो रोजेर मेरी दिदीले जुनदेखि यो घरको दलान नाघेर गइन् त्यो दिनदेखि दिदीलाई भेट्नु त टाढाको कुरा घरमा उसको कुरामा पनि बन्देज हुँदै गयो।

    हामीले बिताएको बाल्यकालका मीठा सम्झना नै त्यसपछिको मेरो सारथी बन्न पुग्यो।

    बा मेरा गाउँमा चिनिएका नामी पुरेत र आमा पुरेतकी जहान। गाउँघरमा दिदीको कारणले गएको बाआमाको इज्जत जोगाउनको निम्ति मेरो बिहे कुल, जात, नाम, चिना ,कुण्डली, भाग्य आदि-इत्यादि सबैको लेखाजोखा मिलाएर गरियो।

    सायद दिदीको जति हिम्मत ममा नभएर हो कि आफ्नो इच्छा भन्न नसकेर मेरो विवाह समय अगावै भयो। ३८ मा ३८ गुण मिलेको, जिउडाल राम्रो हुनेखाने घरको केटो छ तिमीले सुख पाउँछौ। केटो सरकारी जागिरे, पुर्खेउली सम्पत्ति नि प्रशस्तै छ त्यो घरमा तिमीलाई दुःख हुँदैन।
    यस्तै यस्तै शब्दहरूले आफैंलाई बारम्बार मेरी आमाले सन्तुष्ट गराई रहनु हुन्थ्यो।

    मलाई भने आफ्नो वकिल पढ्ने सपनाको पखेटा काटिदिएको झैं लाग्थ्यो। तर पनि केही भन्न सकिनँ।

    विवाहपछि पहिलो पटक माइती आएको बेला आमाले मलाई सिकाएको पहिलो पाठ यही थियो-त्यो घर अबदेखि तिम्रो घर हो।

    जतिनै पारिवारिक समस्या भए पनि बाहिर आउनु नदिनू। घर राम्रोसँग धानेर खानू। अब यो घरको इज्जत र त्यो घरको इज्जत दुवैको जिम्मा तिम्रो।

    यति भनिसकेपछि आमाले छोरी भनेर अंकमाल गर्दा हातभरिको छोपिएको चोट ब्लाउजले झन् तल सारेर छोप्न खोजें। हुन त कहिले पनि मैले आमालाई साथी बनाउन सकेको थिइनँ। दिदी हुँदासम्म सानोतिनो दुःख सधैं उसैसँग पोख्थें, अब मेरो पीडा कसलाई सुनाउनु ??

    आमा विवाहको रातदेखि नै म माथि बज्रपात हुन थाल्यो म जादिनँ त्यो घरमा फेरि कसरी भन्नु ?

    अन्त्यमा बिदा हुँदा सासूलाई आमाजस्तै सोचेर सम्मानपूर्वक माया गर्नु र घरका सबैलाई रिझाएर राख्नु भनेको कुरा मेरो मनमा गढ्यो।

    मैले विवाहको पहिलो रात शारीरिक पीडा के हो भन्ने कुरा बुझेको थिएँ तर दिनहरू बित्दै जाँदा मानसिक यातना भनेको के हो ? क्रूरता भनेको के हो ? चोट कसलाई भन्छ ? सम्बन्धको परिभाषा, प्रेम,घृणालाई बुझ्दै गएँ।

    विवाह अथार्त् प्रेम तर त्यो प्रेम मलाई उहाँसँग नै हुनुपर्छ भन्ने मेरो मानसिकता थियो। विवाहको पहिलो रात जबरजस्ती मेरो मर्जी बमोजिम मेरा पैतालादेखि शिरसम्मका वस्त्र निकालिए। म निर्वस्त्र भएँ। सायद निर्वस्त्र हुनु प्रेम हो भन्ने प्रश्न मेरो मस्तिष्कमा आयो तर उत्तर आएको थिएन।

    जीवनमा पहिलो पल्ट थियो होला जब मलाई कसैले भुइँमा पछारेको थियो। विवाहको अर्को दिन बिहानै मेरो शिर दराजको तिखो भागमा ठोकिन पुग्यो या भनौं ठोकाइयो। त्यो मेरो जीवनको पहिलो चोट थियो जसको निसानले धेरैसम्म छोडेको थिएन। त्यसपछिका हरेक रात नशा र गाँजामा धुत भएर आएको लोग्नेबाट मानसिक, शारीरिक यातना सहँदैमा बित्यो।

    सहनु मेरो कमजोरी थियो कि मेरो बहादुरी ? हरेक दिन आफैंले आफूलाई गर्ने प्रश्न थियो।

    मलाई मेरो कर्तव्य र जिम्मेवारी प्रेमपूर्वक बोध गराउने जिम्मा मेरो घरको हुनुपर्छ।

    आमाले दुलहन फर्काउन गएको बेला तिमीलाई उता केही अप्ठ्यारो त छैन नि मात्रै सोधिदिएको भए …।

    सासूआमालाई आमा झैं सम्झिनु र माया गर्नु भनेको झसंग याद आयो।

    मेरो पीडा अर्को महिलाले कसरी नबुझ्नुहोला भन्ने सोचेर ममाथि हुने यातना भन्ने साहस जुटाएँ। तर म असफल भएँ। मेरा कुरालाई झूट साबित गरियो। त्यो दिनदेखि म घरको नमीठो पात्र बन्न पुगे।

    सासूको अपहेलना लोग्नेको यातना आदि इत्यादि सहनु मेरो दैनिकीझैं भयो। सानो छँदा विद्यालयमा धेरै पटक वक्तृत्वकलामा नारी शिक्षा, समावेशीकरण, महिलाको नेतृत्व, मानव अधिकार भन्ने शीर्षकमा बोल्थें र जित्थें पनि त्यहाँ बोल्दा आफू भएर बोल्थें। त्यो बेला मलाई समाज थाहा थियो तर समाज बुझेकी र भोगेकी थिइनँ।

    मलाई जातभातको विभेद थाहा थियो तर दिदीलाई झैं घरबाटै बञ्चित गरिन्छ भन्ने थाहा थिएन।

    मलाई चिना कुण्डली हेराएर गरिएका वैवाहिक सम्बन्ध दीगो हुन्छन् भन्ने सिकाइएको थियो तर मेरो जीवनमा उसको र मेरो साथ कुनै काँडेतारले बेरेको मैदानभन्दा कम थिएन।

    संकीर्ण र साँघुरो सोचमा मलाई बाँच्न परिरहेको थियो।

    दिनहरू बित्दै जाँदा मानसिक रूपमा म कमजोर हुँदै गएँ। मेरो ब्यथा मैले सहन सकिनँ र सम्बन्धलाई अन्त्य गर्ने र सबैलाई आफ्नो पीडा भन्ने निर्णय गरें। मलाई आश्चर्य तब लाग्यो जब आफ्नै जन्म दिने आमाबाले घरयासी झैं झगडा घरमै समाधान गर्नुपर्छ, तेरै व्यहोरा गतिलो नभएर होला भन्ने जस्ता शब्द प्रयोग गर्नुभयो।

    त्यो दिन मेरो लागि संसारमै सबभन्दा कालो दिन थियो। मेरा जन्मदाता पनि मेरा आफ्ना रहेनछन् झैं मैले महशुस गरें।

    को छ त मेरो ? कसलाई सुनाउनु मेरा पीडा ? मेरो मस्तिष्कले बारम्बार मलाई सोधिरहन्थो। घर छोडेर जाऊँ भने बाउआमाको इज्जत जान्छ भन्ने पीर नछोड्नु भने दिन रातको यातना।

    आफ्नै जिन्दगीको उत्पीडनमा म किन यति निरिह बन्दै गएको होला?

    कसको इज्जत थामेर बसेकी छु म ? त्यो परिवारको जसले आफ्नै भ्रुणको दुःख महशुस गर्दैन र मलाई यस्तो खाडलमा हेरिरहेको छ ? त्यो लोग्नेको घरको इज्जत थाम्नु जो जीवनसाथी बनेर त आयो तर साथी कहिले बन्न सकेन??

    त्यो दिन मैले दिदीलाई खुब सम्झिएँ।

    दिदी धन्न तिमीले स्वतन्त्रता रोज्यौ झैं महशुस गरें। तर फेरि आफैं मनन गरे हरेक सम्बन्धको आयु क्षितिज सरह नहुँदो रहेछ।

    आज म कानुनको विद्यार्थी, ठूला ठूला वकालत लडिरहँदा मलाई मेरो विगत खुब सम्झनामा आउँछ। गर्भ बसेको थाहा भएपछि मैले आफूलाई त्यो खाडलमा राख्न चाहिनँ या भनूँ त्यो दलदलबाट म निष्कासित भएर स्वतन्त्र जिन्दगी रोजें।

    शारीरिक दुरूपयोग, भावनात्मक दुर्व्यवहार, सामान्यतया, भावनात्मक दुर्व्यवहार जुन मैले विवाहको रातदेखि भोग्दै आइरहेकी थिएँ, चलिरहेको चिन्ता र उदासिनतालाई नै आफ्नो नियति ठान्दै बसेकी थिएँ त्यसको अन्त्य हुन जरूरी थियो।

    नियति त्यस्तो हुँदैन भन्ने कुरा मैले समय सापक्ष बुझ्दै गएँ। मेरो कोखबाट नारीको जन्म भएको छ। म उसलाई म हुर्किएको जस्तो समाजमा,पारिवारिक असहजतालाई स्वीकार गर्न सिकाउँदै हुर्काउन चाहन्नँ। दिदीझैं उसले ‘तल्लो’ जातको रोजेर विवाह गर्छु भनेपछि उसको खुसी सोच्नु नै उसलाई स्वतन्त्रता दिनु हो।

    घरेलु हिंसा उसमाथि हुन थाल्यो भने आवाज उठाएर अन्यायको विरूद्धमा लड्न पर्छ भनेर साथ दिने मेरो दायित्व हो।
    सबै व्यक्तिहरूलाई स्वतन्त्रतामा बाँच्ने अधिकार छ। मैले आफूलाई त्यो दलदलबाट निकालें र अर्थहीन जिन्दगीबाट अर्थपूर्ण जिन्दगी रोजें।

    तर अझै पनि अर्थहीन, उत्पीडनको जिन्दगीलाई नियति भनेर जिउनेको कमी छैन। साँच्चै जीवन बहुमूल्य छ आफूलाई चिन्न खोजौं।

    सहनशीलता हुनु भनेको कर्म र कर्तव्यमा हो आफ्नो लक्ष्यमा हो, यातनामा होइन।

    ← Back

    Thank you for your response. ✨

    प्रतिक्रिया दिनुहोस्
    images
    images