images
images
  • ‘म इमानदार क्रिकेटर, गम्भीर षड्यन्त्रको सिकार भएँ’

    १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो । त्यो मेरो थोरै मिहिनेत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन । सकारात्मक सोच, अथक मिहिनेत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरुलगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्थासम्म पुग्न सकेको हुँ ।

    म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रेरणाले अघि बढेको छु । मैले आफ्नो मिहिनेतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्दछु । मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्ध परेको झुटा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सन्जालमा एकलौटि तरिकाले, सत्य तथ्य नबुझी झुटा जाहेरी मात्रका आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षीप्त बनायो । के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।

    यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिनुपर्यो । मानसिक तनाव र स्वास्थ्य खराबीका कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु । झुटा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु । मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

    क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीका रुपमा होस् वा चाहे कप्तानका रुपमा । राष्ट्रका लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महसुस भएको छ।

    मेरो अनुपस्थितिमा मलाई अपराधी साबित गराउने झुटा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्नेछु । मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्यसम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु । म र नेपाली क्रिकेटप्रति सद्भाव राख्ने आदरणीय बुबा, आमा, दाजुभाइ, मित्रहरु र क्रिकेटप्रेमीहरु, मेरा समर्थकहरुप्रति आभार व्यक्त गर्दछु । म वा मविरुद्ध अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images