
काठमाडौं- सामाजिक सञ्जालमा ‘अल बिदा’ भनेर सोमबार बिहानदेखि सम्पर्कविहीन भएका पत्रकार विदुर कटुवाल अहिलेसम्म भेटिएका छैनन्। ‘श्रीमतीसँग डिर्भोस नगर्ने बरु आत्महत्या गर्ने’ भन्दै निस्किएका उनी अहिलेसम्म पनि अत्तोपत्तो लाग्न नसकेको परिवार स्रोतले जनाएको छ।
कटुवाल उदयपुरका पुराना पत्रकार हुन्। उनी हाल काठमाडौंमा थिए। श्रीमतीसँग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्ट्याटसको शुरुमै “अल बिदा” लेखेका उनको त्यसयता मोबाइल स्वीच अफ छ। काठमाडौंको बुद्धनगरमा भाइसँग बस्दै आएका उनी बिहानै डेराबाट निस्किएको नजिकको सिसिटिभी क्यामेरामा देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी तीव्र बनाएको छ।
उनको स्ट्याटस हेर्दा उनी घरबाट निस्किनुको कारण पारिवारिक लफडा भएको अनुमान गर्न सकिन्छ।
उनले स्ट्याटसमा, ‘डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन्। छोरोलाई सम्झाउँदै लेखेका छन्, ‘‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठिक हुन्छ होला छोरो !’’
बिहान ९ बजेको समयमा उनले लेखेको फेसबुक स्ट्याटसमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘‘प्रिय रिता, तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ। मर मर भन्थ्यौ। अब मर्छु। बाँच्दिन खुशी हुनु।’’
प्रतिक्रिया दिनुहोस्