images
images
  • कञ्चनपुरका २ सांसदसहित एमाले प्रवेश गर्दै समाजवादी-माओवादी सुदूरपश्चिमका यी नेता

    स्वागतका लागि अध्यक्ष ओली १५ गते कञ्चनपुर जादै

     धनगढी- कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् ।

    एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका हुन् ।

    सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ ।

    यी नेताहरुले हालै एमालेका केन्द्रीय नेताको समन्वयमा बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेको बताउँदै एमाले कञ्चनपुरका एक पदाधिकारीले आपसी समझदारी भइसकेको र औपचारिक रुपमा पार्टीमा प्रवेश गर्न मात्र बाँकी रहेको बताए ।ती पदाधिकारीकाअनुसार एमालेमा एकीकृत समाजवादी मात्र नभएर नेकपा माओवादी केन्द्रबाट समेत ठूलो संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी छ ।संविधानसभा सदस्य समेत रहेका हरिश ठकुल्ला उर्फ कमल क्षेत्री र नेता मोहन गिरी पनि पार्टी प्रवेश गर्दैछन् ।समाजवादी र माओवादी केन्द्र परित्याग गर्ने मनसाय बनाएका विभिन्न तहका नेताहरुलाई पार्टीमा प्रवेश गर्न नेकपा एमालेले विशेष टोली खटाएको छ ।

    सुदुरपश्चिममा  मुख्य नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ ।

    यता कैलालीमा पनि केही नेता कार्यकर्ताहरुलाई समाजबादीबाट एमालेमा फर्काउने तयारी शुरु भएको छ । बिषेश गरी क्षेत्र नम्बर ४ मा समाजबादीमा लागेका नेता कार्यकर्ताहरुलाई फर्काउने कसरत जारी छ । एमाले प्रदेश सचिब लेखराज भट्टको गृह क्षेत्र भएकाले पनी एमाले अहिले समाजबादीमा लागेका सबै नेता कार्यकर्ताहरुलाई फर्काउने पक्षमा रहेको छ ।

    एमालेका एक नेताले भने-‘यो क्षेत्रमा केही टाउकोमा देखिने नेताहरु मात्रै समाजबादीमा गएका थिए । कार्यकर्ताको सानो तप्का हो उता गएको तर अब सबै फर्किन्छन होला । हामी सम्बाद मा नै छौं ,रिजल्ट आउँछ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images