काठमाडौं– भारत सरकारले सेती र भेरी करिडोरमा प्रशारण लाइन निर्माण गर्न सहयोग गर्ने भएको छ ।
सेती र भेरी करिडोरमा ४०० केभी क्षमताको प्रशारणलाइन निर्माण गर्न भारत सरकारले २५ करोड ४० लाख डलर (करिब ३२ अर्ब ४४ करोड रुपैयाँ) लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गतको रकम दिने सहमति जनाएको हो ।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार भारत सरकारले सेती करिडोरमा प्रशारण लाइन निर्माण गर्न १४ करोड अमेरिकी डलर (१७ अर्ब ८८ करोड रुपैयाँ) र भेरी करिडोरमा प्रशारण लाइन निर्माण गर्न ११ करोड ४० लाख रुपैयाँ (१४ अर्ब ५६ करोड रुपैयाँ) ऋण दिनेछ ।
नेपाल सरकारले छनोट गरेका आयोजनालाई भारत सरकारले स्वीकृति प्रदान गरेपछि लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गतको पैसा खर्च हुने गर्छ ।
उक्त प्रावधान अनुसार अर्थ मन्त्रालयले सेती करिडोरको चैनपुर–वनलेक–दोदोधार खण्डमा १५० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न १४ करोड अमेरिकी डलर (करिब १७ अर्ब ८८ करोड रुपैयाँ) अफ क्रेडिट दिन भारत सरकारसँग आग्रह गरेको थियो ।
यो प्रशारण लाइन चैनपुर सेती जलविद्युत आयोजना, पश्चिम सेती र सेती नदी ६ बाट उत्पादित विजुलीलाई बजार सबस्टेसन सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने छ ।
यस्तै, अर्थ मन्त्रालयले भेरी करिडोरमा ८१ किलोमिटर लामो दानीपिपल–मैन्तडा डबल सर्किट प्रशारण लाइन निर्माण गर्न १४ करोड ४० लाख रुपैयाँ (१४ अर्ब ५६ करोड रुपैयाँ) अफ क्रेडिट दिन भारत सरकार सँग आग्रह गरेको थियो ।
कर्णाली प्रदेशमा निर्माण भइरहेको नलगाड जलविद्युत आयोजनासँगै अन्य आयोजनाको विजुलीलाई बजारसम्म पुर्याउन भेरी करिडोरको प्रशारण लाइनको महत्वपूर्ण भूमिका हुनेछ ।
एनएचपीसीले १२ सय मेगावाट क्षमताको पश्चिम सेती र सेती नदी ६ अयोजना निर्माण गर्ने उक्त विजुली कैलालीको दोदोधारा–कर्मदेव हुँदै भारतको बरेली सम्म विजुली पुर्याउन योजना छ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिडेटका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवाली सेती र भेरी करिडोरमा प्रशारणलाइन निर्माण गर्ने विषयमा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) भइरहेको बताउँछन् ।


विश्व खबर 


















