images
images
  • ४ दिनभित्र फोहोर व्यवस्थापन हुन्छ : काठमाडौं महानगर

    काठमाडौं- काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर व्यवस्थापनको काम ४ दिनमा सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    टेकु ट्रान्फर स्टेसनमा रहेका बाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

    केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिए । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन ।

    सिसडोल र बञ्चरेडाँडाका बासिन्दाले विगतमा महानगरसँग भएको सम्झौता अनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् ।

    महानगरपालिलकाले भने सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images