images
images
  • बीमाको पैसा असुल्ने दाउ: दाङमा बन्दको मौकामा मालिकले नै टिपर जलाउन लगाएको खुलासा

    दाङ- आज एकाबिहानै टिपरमा जलाएको घटनाबारे अनुसन्धान गर्दा टिपरका मालिकले नै जलाउन लगाएको खुलासा भएको छ । बीमाको पैसा असुल्ने लोभका कारण मालिकले नै टिपरका चालक र सहचालकलाई आगजनी गर्न लगाएको खुलेको हो ।

    आज बिहान बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बन्दकर्ताले आगजनी गरेको हुनसक्ने आधारमा समाचारहरु बाहिरिएका थिए । तर प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर बस्ने टिपर मालिक ४१ वर्षीय धनेश्वर भण्डारीकै निर्देशनमा उक्त घटना गराइएको खुलेको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीय टिपर चालक अरूण चौधरी र २६ वर्षीय सहचालक आकाश चौधरीले मालिककै योजना अनुसार टिपरमा आगजनी गरेका हुन् । घटना शंकास्पद देखिएपछि प्रहरीले तत्कालै चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा मालिकले नै जलाउन निर्देशन दिएको खुलेको हो । सो खुलासापछि थप अनुसन्धानका लागि प्रहरीले टिपरका मालिकसहित तीनै जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार, उक्त टिपर पुरानो रहेको र मर्मत सम्भारमा धेरै खर्च भइरहेको भन्दै मालिकले नै बीमाको रकम असुल्ने दाउमा बन्दको मौका छोपेर लगाउन लगाएका रहेछन् । सो टिपर मर्मतका लागि ग्यारेजमा राखिएकोमा अघिल्लो दिन नै योजना बमोजिम झिकेर आज बिहान आगजनी गरेको पाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images