images
images
  • पित्तथैलीको अप्रेसन गर्दा कसरी भयो तीनवटा दाँत गायब ?

    काठमाडौं- वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन् । मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भनिन्, ‘अप्रेसन सकिएपछि बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै थिएनन् ।’

    ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए । यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए । अस्पताल र चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका छन् । ‘अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन ।

    पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ,’ वीरका निर्देशक डा। भूपेन्द्र बस्नेतको दाबी छ, ‘अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।’
    तर, उपचारको क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे चिकित्सकले कुनै पूर्वजानकारी नै नगराएको पीडितको गुनासो छ । ‘पित्तथैलीको अप्रेसन गर्न लगेको बिरामी थिएटरबाट फर्किँदा तीनवटा सद्दे दाँत नै छैन । घटना कसरी भयो भनेर सोध्दा चिकित्सकले हामीलाई काउन्सिलिङसमेत गर्नुभएको छैन,’ बिरामी ओझाका आफन्त गणेश पौडेलले भने, ‘उपचारका क्रममा गल्ती गर्ने र गल्ती गरेपछि पनि घटनाप्रति चासो नदिनु हदैसम्मको लापरबाही हो । उपचार केको गर्ने भन्ने मेसो नपाएर डाक्टरले दाँत निकालेको पनि हुन सक्छ ।’

    अघिल्लो सोमबार भर्ना गरिएकी ओझाको मंगलबार अप्रेसन भएको थियो । शल्यक्रियापछि संक्रमण फैलिएको बताएपछि उनलाई अस्पतालमै राखिएपछि दाँत भाँचिएको विषयमा चिकित्सकले चित्तबुझ्दो जवाफ नदिएको आफन्तहरूको गुनासो छ ।

    अप्रेसनपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस भयो, छाम्दा त अगाडिका दाँत नै थिएनन् – राधिका ओझा, बिरामी
    गत मंगलबार अप्रेसन सकिएपछि थिएटरबाट बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै रहेनछन् । गिजा र ओठ सुन्निएर दुई दिनसम्म खाना खान पनि अप्ठ्यारो भयो । डाक्टरलाई सोध्दा ‘अप्रेसन गर्दा भएको’ भन्नुभएको छ । लापरबाही गर्नुभयो भन्दा ‘दाँत त बाहिर हाल्न मिलिहाल्छ नि’ भन्नुहुन्छ । म त बुढी भइसकेकी मान्छे, दाँत गए पनि फरक नपर्ला । उमेर भएका कसैलाई यस्तो भयो भने जीवनभर तनाव हुँदैन रु डाक्टरहरूले मेरो पेटमा पनि संक्रमण भएको बताउनुभएको छ । रगत धेरै जान थालेपछि मैले थप चेकजाँचका लागि सोधेकी थिएँ । तर, डाक्टरले अप्रेसनपछि स्वास्थ्य संवेदनशील हुने भएकाले सफा वार्डमा बस्नुपर्नेमा धेरैको सम्पर्कमा आउँदा संक्रमण भएको बताउनुभएको छ ।

    वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भन्छन्- चिकित्सकको गल्ती छैन, अप्रेसन गर्दा यस्ता दुर्घटना भइरहन्छन्
    अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ । अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।

    बर्सेनि मेडिकल काउन्सिलमा चिकित्सकको लापरबाहीसम्बन्धी दर्जनौँ उजुरी
    गत सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरूको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध गरे । अस्पतालमै सुत्केरी बेथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआएको र गर्भमै शिशुको मृत्यु भएको आफन्तको आरोप छ । सोही दिन राति साढे ८ बजे मृत शिशुको जन्म भएको थियो ।

    तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले गर्भवती महिलाको उपचारमा लापरबाही नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बच्चाको सालनाल घाँटीमा बेरिएर दिसा खाएपछि मृत्यु भएको हो, चिकित्सकको लापरबाहीले होइन ।’

    चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै आन्दोलन र तोडफोडका घटना पटक–पटक हुँदै आएका छन् । तर, अधिकांश घटनामा चिकित्सक भने उपचारका क्रममा आएको जटिलता भनेर पन्छिने गरेका छन् । चिकित्सकीय लापरबाही र कमजोरीका यस्ता घटनाबारे छानबिन गर्र्दे आएको नेपाल मेडिकल काउन्सिलमा बर्सेनि ५० वटासम्म उजुरी पुग्ने गरेका छन् । काउन्सिलअन्तर्गतको ‘व्यावसायिक आचरण तथा स्वास्थ्य समिति’को तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्र चिकित्सकको लापरबाहीविरुद्ध आठवटा घटना दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४६ र ०७७र७८ मा ५० घटना काउन्सिलमा दर्ता भएको तथ्यांक छ । कैयौँ घटना त काउन्सिलसम्म नै पुग्दैनन् । समस्याबाट पन्छिन अस्पतालले बिरामी तथा मृतकका आफन्तलाई क्षतिपूर्ति दिने तथा उपचार शुल्क मिनाहा गरिदिएर घटना मिलाउने गरेका छन् ।

    काउन्सिलसम्म एकदमै कम मात्र उजुरी आउँछन् –  डा.कृष्णप्रसाद अधिकारी,रजिस्ट्रार,(नेपाल मेडिकल काउन्सिल)
    चिकित्सकको लापरबाही वा कमजोरीका कारण बिरामीको स्वास्थ्यमा थप समस्या आएको वा मृत्यु भएको घटना पटक–पटक सार्वजनिक हुने गरेका छन् । तर, काउन्सिलसम्म न्यून उजुरी मात्रै आइपुग्छन् । अहिलेसम्म यस्ता घटनालाई देवानी वा फौजदारी के मान्ने भन्नेमै अन्योल छ । तर, बाहिर आउने सबै घटना चिकित्सकको लापरबाहीको कारणले मात्रै पनि भएका हुँदैनन् । कतिपय उपचारमा जटिलता कम गर्ने क्रममा पनि यस्ता घटना हुन्छन् । तर, बिरामी पक्षले चिकित्सकलाई मात्रै दोष लगाउने गरेको पाइन्छ । -आजको नयाँ पत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images