काठमाडौं- दैलेखका एक युवकको अपहरणमा संलग्न ६ जना पक्राउ परेका छन्। गत साउन ९ गते काठमाडौंबाट दैलेख जाने क्रममा चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ का २७ वर्षीय केशवकुमार विक बुटवलबाट अपहरणमा परेका थिए।
उनलाई चिनजानकै युवतीले अपहरणमा पारेको अनुसन्धानबाट खुलेको छ। निर्मला नाम बताउने युवतीले उनलाई दैलेख जाँदै गर्दा काम छ भन्दै बुटवल बसबाट झर्न आग्रह गरेकी थिइन्।
राति साढे ८ बजे केशव बसपार्कमा झरेका थिए। ती युवतीले आफन्तलाई लिन नम्बर दिएर पठाउँछु भनेकी थिइन्। बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको स्कारपियो लिएर आएका व्यक्तिले उनलाई लगेका थिए। गाडीमा चढाएपछि उनीहरुले मोवाइल खोसेका थिए। तुलसीपुर उपमहानगरपालिका ५ सल्यान रोडमा रहेको युवक होटलमा बन्धक बनाएका थिए।
होटलको कोठा नं १०६ मा बन्धक बनाएर उनीहरुले ७ लाख रुपैयाँ फिरौती माग गर्दै आफन्तलाई फोन गरेका थिए। तर आफन्तले घटना बारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दाङको बबई ३ का ३५ वर्षीय लिलाराम बिक, मार्सल भन्ने नेप बहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका २५ वर्षीय सुकलाल बिक, वडा नं ७ का २६ वर्षीय मोतिराम विश्वकर्मा, कपिलवस्तुको शिवराज नगरपालिका ९ का २० वर्षीय मनोज थारु र प्युठानको गौमुखी गाउँपालिका ७ का २४ वर्षीय जनक कुँवर रहेका छन्। कुँवर गाडी चालक हुन्।























