images
images
  • एक बर्षसम्म अलपत्र त्रिवि नतिजा: स्नातक पहिलो वर्षकै नतिजा नपाई तेस्रो बर्षमा पढ्दैछन् विद्यार्थी

    एक बर्ष वित्यो त्रिवि नतिजाको टुंगो छैन

    काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १२ महिनाअघि लिएको स्नातक प्रथम वर्ष (पुरानो)को परीक्षाफल अझै प्रकाशित भएको छैन । शैक्षिक सत्र ०७६ मा भर्ना भएर ०७८ साउनमा पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी हाल तेस्रो वर्षमा पढ्दै गर्दा पनि पहिलो वर्षकै नतिजा नपाएका हुन् ।

    त्रिविमा सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने नियम छ । तर, स्नातक तहका केही विषयको परीक्षा सकिएको एक वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन भएको छैन । त्रिविको कमजोरीले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ ।

    ०७८ साउनमा परीक्षा भएका चारवर्षे बिए, बिबिएस, बिएस्सी, बिएड पहिलो वर्षको नतिजा सार्वजनिक भएको छैन । कतिपय उत्तरपुस्तिका नै नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

    ‘कतिपय कपी भेटिएको छैन । हराएको होइन, विभिन्न ठाउँबाट आएकाले खोज्न समय लागेको हो,’ सहनियन्त्रक घनश्याम ठाकुरलेभने , ‘विद्यार्थीले जहाँ छ त्यहीँबाट जाँच दिए, रोल नम्बरअनुसार कपी खोज्न टाइम लाग्छ, त्यसलाई केलाउँदा समय लागेको छ ।’

    त्यतिवेला कोभिडको समस्याका कारण विद्यार्थीले अध्ययन गरेको क्षेत्रभन्दा बाहिर आफ्नो घर तथा बसिरहेको नजिकको ठाउँको क्याम्पसबाट परीक्षा दिने व्यवस्था त्रिविले गरेको थियो । त्रिविले घरपायक स्थानबाट परीक्षा दिन पाउने व्यवस्था गरे पनि परीक्षा दिएपछि उत्तरपुस्तिका व्यवस्थित गर्न नसक्दा भद्रगोल बनेको हो । कतिपय उत्तरपुस्तिका पनिका बल्खुले बल्ल परीक्षणका लागि उपलब्ध गराउँदै छ ।

    शैक्षिक सत्र ०७६ भदौमा भर्ना भएका विद्यार्थीले ०७८ साउनमा प्रथम र दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको कक्षा सुरु गरेको छन् । शैक्षिक सत्र ०७७ माघमा भर्ना भएका विद्यार्थीले ०७८ फागुनमा प्रथम वर्षको जाँच दिएर अहिले दोस्रो वर्ष अध्ययन गरिरहेका छन् । तर, स्नातक तहका यी दुवै प्रथम वर्षका परीक्षाफल नआउँदा क्याम्पस प्रशासनसमेत अन्योलमा परेका छन् ।

    विद्यार्थी तेस्रो वर्षमा पुग्दा पनि पहिलो वर्षको नतिजा नआउनु सबैका लागि दुर्भाग्य भएको बताउँछन् पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापा । ‘विश्वविद्यालयमा धेरै विषय सिस्टममा चलेको छैन, यसले धेरैलाई असर गर्छ,’ उनले भने । परीक्षामा आवश्यक जनशक्ति र पूर्वाधार दिएर पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

    त्रिविमा स्नातक प्रथम वर्षको ०७८ साउनमा परीक्षा दिने मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन, शिक्षा र विज्ञान संकायका विद्यार्थी संख्या साढे दुई लाख रहेको पनिकाले जनाएको छ । एलएलबीमा परीक्षाका लागि झन्डै १४ हजारले फारम भरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images