
पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मोवाइलबाट फेसबुक चलाउने, मोवाइलबाट कुरा गर्ने र उमेर नपुग्दै बालविवाह गर्ने क्रम बढेको पाइन्छ । जसका कारण बालिकाहरुले विभिन्न खाले पिडा भोग्न बाध्य भएको बताउँछन् ।
१२ वर्षमा भागेर विवाह गरेकी सिन्धुपाल्चोककी पुष्पा विक आफूले आफूले सोच्दै नसोचेको पिडा भोग्नुपरेको दुखेसो गर्छिन । उनी भन्छिन्, “बुढाले नै स्कुल पढाउँछु, छुटै कोठा खोजेर राख्छु जस्ता धेरै आश्वासन देखाएर विवाह गरेँ, जब विवाह भयो, बच्चा पनि जन्मियो अनि बुढाले स्कुल पढाउनु त कहाँ हो कहाँ खान लाउन पनि राम्ररी दिएन, गाली गर्न, कुटपिट गर्न थाल्यो, पछि फेरि माइत गएर बस्न बाध्य भएँ ।”
सामाजिक सञ्जाल , मोवाइल फोन लगाएतका कारण सानै उमेरमा भागेर विवाह गर्ने बालबालिकाको संख्या बढेसँगै उनीहरुको भविस्य पनि अलपत्र पर्ने गरेको अधिकारीहरु बताउँछन् । खासगरी बालिकाहरु सानै उमेरमा आफूखुसी भागेर विवाह गर्ने, बालबच्चा जन्मिने र सोच्दै नसोचेको पिडा भोग्न बाध्य भएको गुनासो उनीहरुको छ । पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मोवाइलबाट फेसबुक चलाउने, मोवाइलबाट कुरा गर्ने र उमेर नपुग्दै बालविवाह गर्ने गरेको पाइन्छ । जसका कारण बालिकाहरुले यस्ता किसिमका पिडा भोग्न बाध्य भएको बताउँछन् ।
विद्यालय जाने उमेरमा अर्थात् कानूनले तोकेभन्दा कमै उमेरमा गरिने विवाह बालविवाह हो । वर्तमान समयमा बालविवाहलाई संविधान र कानूनले पूर्णतः निषेध गरेको छ । विडम्बना कानून र संविधानले बालविवाहलाई कागजमा मात्रै निषेध गर्न सक्यो, व्यावहारिक पक्ष कमजोर हुँदा बालविवाहको अवस्था जहाँको तहीं रहेको बताइन्छ । कतिपय बालिकाहरु देखासिकमीमा र कतिपय अज्ञानताका कारण पनि यस्तो विवाह गर्ने गरेको बताइन्छ ।
१५ वर्षमा विवाह गरेकी अर्की मनमाया विक पनि सानै उमेरमा विववाह गर्दा आफूले नसोचेको पिडा भोग्न्नुपरेको भन्दै यस्तो विवाह नगर्न अरु बालिकाहरुलाई किशोरीहरुलाई सुझाउँछिन्, “म त यसरी लहहैमा लागेर विवाह गरेँ, के के न हुन्छ भनेजस्तो भयो त्यो बेला, केटाले अनेकथरी सपना देखायो, अहिले यसरी दुख पाएको छु, त्यसकारण अरु बहिनीहरु देख्दा पनि डर लागेर आउँछ मलाई त आजभोली किनकि यिनीहरु पनि यसरी नै विवाह गर्छन् की फस्लान् की भन्ने डर लाग्छ । मेरोआफ्नो बहिनीहरुलाई त म कति सम्झाउने गरेको छु, सानै उमेरमा विवाह गर्नुहुदैन, आफू आत्मनिर्भर बन्नुपर्नेरहेछ, यदि आफै रोजेर विवाह गर्ने भएपनि परिवारको सल्लाह लिनुपर्छ, अभिभावकले भनेको मान्नुपर्ने रहेछ भन्ने महसुस म आफौई पनि धेरै पटक हुन्छ, यस्तो कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने गरेकी छु ।”
कानुनी रुपमा अभिभावकको अनुमतिमा २० वर्षमाथि विवाह गर्ने पाउने भएपनि स्वास्थ्यको दुष्टिकोणले २५ वर्षको उमेरमापछि मात्र बच्चा जन्माउनु बुद्धिमानी मानिने जानकारहरु बताउँछन् । तर एकातिर नेपालका कतिपय स्थानमा बालविवाहको चलन विद्यमान रहेको र अर्कोतिर स्कुल, कलेजमा पढ्दापढ्दै देखासिकीमै प्रेम विवाह गर्ने किशोर र किशोरीको संख्या पनि उत्तिकै बढ्दै गएको पाइएको अधिकारीहरु बताउँछन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समितिका अध्यक्ष भोजराज खतिवडाले सवै कार्यालय स्थानीय तहमा समायोजन भएकाले एकीन तथ्यांक पाउन नसकेपनि तुलनात्मक रुपमा हेर्दा बालविवाह बढेको पाइएको बताए ।
सानै उमेरमा विवाह गर्दा शैक्षिक मात्र नभइ शारिरिक र मानसिक रुपमा पनि उनीहरु कमजोर हुने गरेकोले विद्यालयस्तरमै यसबारेमा बालबालिकालाई जानकारी गराइनुपर्ने बताइन्छ ।
बालविवाह बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन् मात्रै नभएर विकास र समृद्धिको बाधक पनि हो । तसर्थ यसको उन्मूलन हुनु आवश्यक छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा बालविवाहलाई उन्मूलन गर्न सम्भव छ । अन्य सरोकारवाला निकायले पनि यसमा हातेमालो गर्नु जरुरी छ । घरमा आमाबुबा भएकाले मोबाइल फोन किनिदिने र पछि गएर मोबाइलको दुरुपयोग गर्दै बालविवाह हुने गरेको पाइन्छ । देशका कतिपय स्थानमा त विद्यालयका बालबालिकालाई मोवाइल निषेध गरिएको छ तर घरमा चलाउने प्रविधि बढ्दो छ ।
बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा संघ संस्थाका प्रतिनिधिहरु सोसलमिडियाको नकारात्मक असर र बाल अधिकारका कुरा गर्नेहरु आफैले बालविवाह गर्ने कार्यप्रति चिन्तित भएका छन्।
प्राय ठाउँमा अहिले दुइ प्रकारका बालविवाह हुने गरेका छन् । एउटा सोसलमिडियाबाट माया प्रेम गर्ने र अर्को चाहि परम्पराका नाममा अभिभावकले नै विवाह गरिदिने । अभिभावकले गराइदिने बालविवाह पछिल्लो समय कम हुदै गएको देखिएपनि बालविवाह भने समाजमा बढेको पाइन्छ ।
बालविवाहले घरेलु हिंसा, वहुविवाहदेखि आत्महत्याको अवस्था आएको कतिपयको भनाइ छ । ‘पहिला–पहिला घरपरिवारले जबरजस्ती बाल विवाह गरिदिन्थे, अहिले बालबालिका आफै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन्।
केही समय अघिको तथ्यांक अनुसार नेपालमा अहिले करिव करिव ९० प्रतिशत इन्टरनेटमा पहुँचमा छन् । ६० प्रतिशतले अन्जानमै साथी बनाएको पाइएको छ । ६७ प्रतिशतले कुनै न कुनै यौनजन्य सामाग्री हेर्ने गर्दछन् । अन्जानमै चिनजान भएकाहरु बढी छिल्लिएर बोल्ने र यस्तो जोखिममा पर्ने संभावना बढ्ने देखिन्छ ।
कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरूले विवाह गर्ने क्रम रोकिएको छैन। बरु हरेक वर्ष मोबाइलको उपलब्धताले थपिएको छ।
दुइ वर्ष अघि युनिसेफले गरेको एक गहन बिश्लेषणले बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्व कै शीर्ष दशमा पर्ने जनाएको छ। सो बिश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषहरूमध्ये एकको बाल्यावस्थामै विवाह भएको थियो।
नेपाल प्रहरीका अनुसार वर्षेनी यस्तो विवाह हुने क्रम बढेको पाइन्छ । आर्थिक वर्ष २०७६-७७ को पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने 2077-78 वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ । सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो संख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्