काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुङ्गो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए
गत २०७८ सालको वैशाख ८ गते सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरू सहभागी भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्याङ्कनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो। एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।
त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि www.see.gov.np , www.neb.gov.np , र see.ntc.net.np लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।
हेर्नुस् सूचना :























