काठमाडौं- नेपाल बैंकर्स संघले सोमबार रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८र७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ ।
जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको देखाइएको छ । तर, ६ दिनमा ६३ अर्ब रुपैयाँ कसरी बाहिरियो ? बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी असार मसान्तमा डिपोजिट बढ्नु र साउनको पहिलो हप्ता फेरि उसै गरी घट्नु स्वाभाविक नै रहेको बताउँछन् ।
‘गत वर्षहरूमा पनि आर्थिक वर्षको अन्तमा ह्वातै डिपोजिट बढ्ने र नयाँ आर्थिक वर्षको सुरुवातमा घट्ने गरेकै हो । यस पटक पनि यस्तै भएको छ ।
केसीले भने, ‘प्रमुखतः यस पटक अघिल्लो आर्थिक वर्षमा हुन नसकेको पेमेन्ट नेपाल आयल निगमले एकै पटक गर्दा बैङ्कबाट डिपोजिट बाहिरिएको देखिन्छ । अर्को तर्फ स्थानीय तहहरूको निक्षेप परिचालन हुँदा पनि केही डिपोजिट घटेको छ र कन्ट्राक्टरहरुले असार मसान्तसम्म गरेको डिपोजिट विथड्र (झिक्दा) पनि बैङ्कहरूको डिपोजिट घटेको छ’ केसीले भने ।
आर्थिक वर्षको अन्तमा सबै हिसाबकिताब क्लोज हुने हुँदा बैङ्कमा डिपोजिट बढेको हो । तर, अर्को आर्थिक वर्ष सुरु भएसँगै पुनः डिपोजिटरहरुले पैसा झिक्दा वा ट्रान्जिट गर्दा घट्न पुगेको हो । यसलाई स्वाभाविक मान्नुपर्छ’ उनले भने ।
बैंकर्स संघको रिपोर्ट अनुसार साउन ६ गतेसम्म बैङ्कहरूबाट ६३ अर्ब रुपैयाँ बाहिरिँदै कुल डिपोजिट (निक्षेप) ४४ खर्ब ७८ अर्बमा झरेको छ भने कर्जा लगानी (लेन्डिङ) १० अर्बले घट्दै ४१ खर्ब ६५ अर्बमा झरेको छ ।


विश्व खबर 


















