काठमाडौं- उमेर मात्रै २३ वर्ष । तर, ठगीमा ‘मास्टरमाइन्ड’ । ठगीको यस्तो जालो, जहाँ सर्वसाधारण मात्रै होइन, सुरक्षा निकायमा वर्षौ बिताएकासमेत सजिलै फसे ।
ठगीका ‘मास्टरमाइन्ड’ पाल्पा रम्भा गाउँपालिका– ३ का सुरज थापाले समीर जोशीसँगको सहकार्यमा चक्रपथमा ‘डी रोयल सेक्युरिटी रिक्वायरमेन्ट प्रालि’ नामको नक्कली मेनपावर कम्पनी मार्फत असुलीको धन्दा चलाउँथे । आफ्नो ठगी मिसन सकेर रातारात ‘बेपत्ता’ भए । बल्ल धेरैजसो पीडितले ठगिएको थाहा पाए ।
उनले विश्वास आर्जन र पैसा असुल्न पत्रिकादेखि सोसल मिडियासम्म विज्ञापन र नक्कली विज्ञ खडा गरी ‘ओरियन्टेसन’सम्मका सबै हर्कत गरे। यसैका बलमा वैदेशिक रोजगारीका नाममा डेढ सय युवाबाट करिब १३ करोड असुल गरे।
सुरज थापाले समीर जोशीसँगको सहकार्यमा चक्रपथमा ‘डी रोयल सेक्युरिटी रेक्वायरमेन्ट प्रालि’ नामको नक्कली मेनपावर कम्पनीमार्फत असुलीको धन्दा चलाउँथे । आफ्नो ठगी मिसन सकेर रातारात ‘बेपत्ता’ भए । बल्ल धेरैजसो पीडितले ठगिएको थाहा पाए । चलचित्रका लागि बनाएको ‘स्क्रिप्ट’मा जस्तै उनी एकपछि अर्को गरी आफ्नो योजना अगाडि बढाउँथे । नक्कली कम्पनी बनाएपछि उनले त्यसको नाममा फेसबुक पेज खोलेका थिए । पीडितहरूका अनुसार दुबईमा आकर्षक रोजगारी खुलेको भन्दै फेसबुकमा प्रचार गरे र सोही व्यहोराको विज्ञापन पत्रिकामा पनि छापे । सोही आधारमा युवासँग करोड रुपैयाँ उठाए र एकाएक बेपत्ता भए ।
यी हुन ठगिएका पीडित:
पीडितमध्येका सल्यान सिद्धकुमार गाउँपालिका– ४ का २५ वर्षीय ज्ञानकुमार चलाउनेका अनुसार उनले करिब एक सय ५० युवासँग पाँचदेखि १२ लाखको दरले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएका छन् । उनीबाट ठगिने नेपाल मात्र होइन र दुबईका होटेलमा समेत प्रशस्त भेटिने चलाउनेले बताए । ‘दुबईमा सेक्युरिटीगार्डमा आकर्षक तलबसहितको रोजगारी खुलेको भन्दै मलाई पटक–पटक भन्यो । विज्ञापन पनि गरेको रहेछ । मसँग यसले पटक–पटक गरी १२ लाख रुपैयाँभन्दा धेरै लियो । दुबई त पुर्यायो । तर, काम लगाएन,’ नयाँ पत्रिकासँगको सम्पर्कमा आएका चलाउनेले भने, ‘मजस्तै अलपत्र पर्ने डेढ सयभन्दा धेरै छन् । सबैबाट यसले १३ करोड रुपैयाँभन्दा धेरै रकम उठाएको रहेछ ।’
नेपाली सेनाबाट राजीनामा दिएका चलाउने वर्ष दिनअघि ‘भिजिट भिसा’मा दुबई पुगेका थिए । त्यसअघि उनले सुरजलाई नौ लाख रुपैयाँ बुझाएका थिए । रोजगारका लागि दुबईमा अन्तर्वार्तासमेत दिएका उनले काम भने पाएनन् । काम पाउने आशामा नौ महिना १० दिन दुबई बसेर अन्ततः खाली हात नेपाल फर्कनुपरेको उनले गुनासो सुनाए । सामाखुसीमा भेटिएका चलाउनेले बताएअनुसार सुरुमा थापाले वर्किङ भिसामा लैजाने भनेका थिए र सोही आशामा रकम लिएका थिए । ‘तर, एयरपोर्टमा पुगेपछि भने ‘भिजिट भिसा’ हातमा थमायो । विदेश हिँडेका हामी घर फर्कन सकेनौँ । काम पाउने आशामा दुबई पुग्यौँ । त्यहाँ पुगेर पनि तीन लाख रुपैयाँभन्दा धेरै रकम बुझायौँ । तर, काम पाउन सकेनौँ ।’
गोरखा पालुङटार नगरपालिका– १ का ३९ वर्षीय विकुल कोइरालाका अनुसार सुरजले युवालाई सुरुमा वर्किङ भिसामै दुबई लैजाने प्रलोभन दिन्थे र राहदानी, नागरिकतालगायतका आवश्यक कागजात पेस गर्न लगाउँथे । केही सातापछि दुबईस्थित कम्पनीबाट आएको भन्दै नक्कली ‘वर्किङ भिसा’ सामाजिक सञ्जालमार्फत पठाउँथे । ‘प्रतिव्यक्ति नौ लाखका दरले रकम बुझाउन भन्थे । जब युवा दुबई उड्न विमानस्थल पुग्थे । त्यसपछि भने दुबईको ‘भिजिट भिसा’ युवाको हातमा थमाउँथे,’ पीडित कोइरालाले भने ।
सामाजिक सञ्जालमार्फत दुबईस्थित ‘समन अलरायन टेक्निकल सर्भिस’ नामक कम्पनीबाट आएको नक्कली ‘वर्किङ भिसा’ देखाउँदै कोइरालाले भने, ‘होस्टेलमा वार्डेन बस्नुपर्ने र महिनाको ३५ सय दिराम तलब हुने भनेपछि म उसको सम्पर्कमा पुगेँ । उसले ‘वर्किङ भिसा’मै लैजाने भन्यो । हामी सातजना थियौँ । सबैले कागजात पेस गर्यौँ । केही सातापछि नभन्दै ‘वर्किङ भिसा’ आएको सन्देश फोनबाट आयो । त्यसपछि ढुक्क भएर रकम बुझायौँ । एयरपोर्ट पुगेपछि त उसले ‘भिजिट भिसा’ पो दियो । हामी जबर्जस्ती दुबई पुग्यौँ । ‘वर्किङ भिसा’ नक्कली रहेछ ।’
सैनिक सेवाबाट अवकाशप्राप्त कोइरालाका अनुसार युवालाई प्रभावित पार्न उनले नक्कली विज्ञ खडा गरी ‘ओरेन्टेसन’समेत गराउँथे । यसका लागि उनले छुट्टै घर भाडामा लिएका थिए । आधा रकम प्राप्त असुलेपछि उनले युवालाई ‘ओरेन्टेसन’ गराउँथे । त्यसपछि बाँकी रकम लिन्थे । दुबईबाट रित्तो हात फर्केका उनले भने, ‘यसको मेनपावर मात्रै नक्कली होइन, यसले गराउने ‘ओरेन्टेसन’समेत नक्कली रहेको नेपाल फर्केपछि मात्रै खुल्यो । ‘ओरेन्टेसन’मा सहभागी हुनेसमेत नक्कली रहेको सूचना छ । हामीसँग आवश्यक सबै प्रमाण छन् । वैदेशिक रोजगार विभागमा जाहेरी त दिएका छौँ । डुबेको रकम उठ्ने हो या होइन ठेगान छैन ।’
रामेछाप खाँडादेवी गाउँपालिका– ९ का ३३ वर्षीय सुमन भण्डारीका अनुसार सुरजले फरक–फरक लटमा युवा दुबई पठाउँथे । दुबईमा आवश्यक प्रबन्ध मिलाउने काम वसन्त श्रेष्ठले गर्थे । नेपालबाट फरक–फरक लटमा पुगेका युवालाई फरक–फरक फ्लाइटमा राख्थे । केही दिन खाना र बस्न दिन्थे । त्यसपछि भने उनी एकाएक बेपत्ता हुन्थे । पीडितमध्ये अधिकांश नेपाली सेनाबाट अवकाशप्राप्त सिपाही र हवल्दार रहेको भण्डारीले बताए ।
अलपत्र परी नेपाल फर्केका भण्डारीले भने, ‘नेपालमा सुरजले धन्दा गर्थे । दुबईमा भने वसन्त श्रेष्ठ थिए । फरक–फरक लटमा दुबई पुगेका सबै युवालाई उनले फरक–फरक ठाउँमा राख्थे । एकै ठाउँमा राख्दा कर्तुत खुल्ने डर यिनीहरूलाई थियो । सूचना आएअनुसार यिनीहरूमार्फत दुबई पुगेर अलपत्र पर्ने धेरै युवा छन् । नेपालमा पनि धेरै पीडित छन् । पीडितमध्ये अधिकांश सैनिक सेवामा आबद्ध छन् ।’
‘थापाबाट ठगिएका पाँचजना जाहेरीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । थापाले उनीहरूलाई दुबई लैजाने प्रलोभनमा प्रतिव्यक्ति पाँचदेखि ६ लाखका दरले ३५ लाख रुपैयाँ असुलेका थिए । थापा एकाएक बेपत्ता भएपछि जाहेरी बोकेर उनीहरू काठमाडौं परिसर पुगेका हुन्,’ जाहेरी दर्ताको प्रक्रियामा रहेका पीडितमध्येका कञ्चनपुर महेन्द्रनगरका वीरेन्द्रबहादुर पालले नयाँ पत्रिकासँग भने । उनले भने, ‘दुबई लैजाने भन्दै हामीसँग पैसा लियो । तर, दुबई लगेन । एकाएक बेपत्ता भएपछि खोजीमा लाग्यौँ । मेनपावर पनि नक्कली रहेको खुल्यो । जाहेरी बोकेर हामी पाँच भाइ टेकु गएका छौँ । जाहेरी दर्ताको प्रक्रियामा छ ।’
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले पीडित केही युवाहरूले ठगीबारे उजुरी दिएको बताए । उनले यसरी ठगिनुमा पीडित पनि जिम्मेवार रहेको बताए । ‘श्रम स्वीकृतिविना रोजगारमा विदेश जान मिल्दैन । तर, पछिल्ला दिन भिजिट भिसामा धेरै युवा वैदेशिक रोजागारमा गएको सूचना हामीकहाँ आएका छन् । त्यसमा पनि नेपाल सरकारको सुरक्षा निकायबाट अवकाश पाएका धेरै छन् । यसमा केही हदसम्म जानेको पनि दोष छ,’ महानिर्देशक पौडेलले भने, ‘जोखिम हुने जान्दाजान्दै भिजिट भिसामा जाने, अनि ठगिमा परियो भन्ने रु यस्ता विषयमा हामी आवश्यकताभन्दा धेरै भावुक हुन पुग्छौँ । हामीकहाँ केही युवाका जाहेरी आएका छन् । दर्ता गरी पक्राउ पुर्जी जारी भएका छन् । अभियुक्तको खोजी भइरहेको होला । अभियुक्त पक्राउ पर्लान् ।’
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले प्रक्रिया पुर्याएर पीडितको जाहेरी दर्ता हुने र ठगी सम्बन्धमा पक्राउ पुर्जी जारी भइसकेको हो भने प्रहरीले अभियुक्तलाई तुरुन्तै पक्राउ गर्ने बताए ।,‘ठगी सम्बन्धमा आएका जाहेरी दर्ता हुन्छन् । आवश्यक कानुनी प्रक्रिया भने पुर्याउनुपर्छ । वैदेशिक रोजगारका क्रममा भएका ठगीको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी हुन्छ । अभियुक्तको सम्बन्धमा विभागले पक्राउ पुर्जी जारी गरिसकेको हो भने प्रहरीले उसलाई तुरुन्तै पक्राउ गर्छ,’ उनले भने । – आजको नयाँ पत्रिकाबाट























