डोटी- जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरण रोक्ने निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर–७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ ।
उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।
यसैगरी, आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए । मदिरा सेवन गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।
यस्तै, सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी बताए ।
जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।


विश्व खबर 




















