images
images
  • मेयर बालेनले शिक्षामन्त्रीलाई भेटे, महानगरको शैक्षिक गुणस्तरबारे छलफल

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् ।

    भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

    मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

    पौडेलले महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।

    दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलको जोड छ ।

    मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता औँल्याए ।

    ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौँ,’ शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टम व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्‍यो ।’

    बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रौँ भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्थामा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images