images
images
  • कार्यपालिका बैठकमै कड्किए मेयर साम्पाङ- स्वतन्त्र भनेर हेपेको हो ?

    धरान- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बजेट पास गर्न नदिने कार्यपालिका सदस्यमाथि खनिएका छन् । उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । बजेटबाट छलफलका लागि बिहीबार बसेको कार्यपालिकाको बैठकमा धरानको विकासका लागि बजेट बनाऔं, विकास गरौं भन्दा कतिपय वडाध्यक्षहरुले विवाद निकालेको साम्पाङको भनाइ छ ।

    मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ।

    उनले बैठकको सुरुमा नै प्रश्न गरे, ‘बजेट पारित गर्ने कहिले ? जहिले पनि बैठक स्थगित गर्ने ? स्वतन्त्रले मेयर जित्यो यसलाई असफल बनाउनुपर्छ भनेको हो ? कि के हो त ? हर्क साम्पाङ असफल हुनु भनेको व्यक्ति होइन, पुरै धरान असफल हुनु हो । मैले मात्रै बनाएको हो बजेट ? विषयगत समितिले छलफल गरेको छैन ?’

    बजेट पारित गर्नका लागि बैठक बोलाए पनि पटक पटक स्थगित भएको थियो । त्यसलै सुरुमै आक्रोशित भएका मेयर साम्पाङ त्यत्तिमै रोकिएनन्, ‘म निकटतम प्रतिद्वन्द्वी भन्दा ५ हजार बढि मत ल्याएर जितेको हो । स्वीकार नगर्ने ?

    तपाईँहरुले धराने जनतालाई कसरी जवाफ दिनुहुन्छ । कहिले पास गर्ने बजेट, ८० सालको असारमा पास गर्ने बजेट ? बैठक जहिले सारेको छ, जहिले सारेको छ । बजेट पास भएन भने वडा कसरी चलाउने, गोजीको पैसाले चलाउने हो वडा ? डोनेसन माग्नुस अब, जित्ने बेला के भनेर आउनुभयो ? तपाईँहरु यति धेरै गैर जिम्मेवार पनि नबन्नुस ।’

    ‘बजेट बनाऔं, विद्यालय बनाऔं, विकास गरौं भनेको छु त यो विषयमा किन विवाद गर्नु ? बजेट कुन कुन शीर्षकमा कति कति गर्ने भन्ने कुरा मैले गरेको छैन । सिलिङ बनाउने विषयमा तपाईहरुले नै भन्नुभएको छ,’ बैठकलाई सम्बोधन गर्दै साम्पाङले भने, ‘हामीले पटकपटक छलफल गरिरहेकै छौं नि । हाम्रो मनसाय बजेट पास नगर्ने नै हो त रु त्यसो गर्दा नगरपालिका चल्छ त । वडा चल्छ । उहाँ के के गर्नुहुन्छ (उपप्रमुख अइन्द्र बेघातिर देखाउँदै) कहिले मिलो है भन्दै आउनु हुन्छ, फेरि यहाँ आयो मिलेको हुँदैन । को को समितिमा बस्ने को के गर्ने उहाँलाई नै जिम्मा दिएको छु । यो बजेट राम्रो बन्नुपर्यो । समयमै आउनु पर्यो । तपाईहरुले गृहकार्य गर्नुभयो । अझै पनि छलफल गरौं, छलफल गरौं, छलफल गरौं भन्नुहुन्छ । कति गर्नु छलफल ?’

    सम्बोधनकै क्रममा उनले धराने बेसार बनाएर बेच्ने आफ्नो योजना रहेको सुनाए । यस्तै धरानले टुथपिन बनाएर बेच्ने पनि उनले योजना सुनाए । साम्पाङले आक्रोशित हुँदै सम्बोधन गरेपछि वडाध्यक्षहरु पनि कड्कीएका थिए भने उपप्रमुख अइन्द्र विक्रम बेघाले प्रमुख साम्पाङको पक्षमा वडाध्यक्षलाई फकाउने प्रयास गरेका थिए । ‘ए बाबा मिलाएर बजेट पास गरौं भन्दा किन बेमेल र झैझगडा ?,’ बेघाले भने ।

    धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९र८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

    धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images