images
images
  • असारे विकास : हप्ता दिनमा ८ अर्ब खर्च

    काठमाडौं- चालु आर्थिक वर्ष सकिन १६ दिन मात्रै बाँकी रहँदा अहिले सरकारी निकाय धमाधम बजेट सक्ने ध्याउन्नमा छन् । विकासे अड्डाहरुमा बजेट सक्ने चटारो छ ।

    त्यसैकारण अहिले झरीकैबीच धमाधम सडक निर्माण र मर्मत लगायतका विकासका काम भइरहेका छन् । काठमाडौं लगायतका शहर र राजमार्गहरुमा भत्किएका र कच्ची सडकहरुको धमाधम पिच गरिंदैछ ।

    चालु आवमा सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ साउन २०७८ देखि १६ असार २०७९ सम्ममा एक खर्ब ५२ अर्ब ७२ करोड रुपैयाँ पूँजीगत गरेको छ ।

    यो चालू आवमा उक्त शीर्षकमा सरकारले विनियोजन गरेको रकमको करिब ४०.३९ प्रतिशत हो । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन जथाभावीका योजनामा बजेट खर्चिने क्रम बढेको छ । बितेको एक हप्तामा मात्रै ८ अर्ब १६ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ ।

    विनियोजित बजेट खर्च नहुने प्रणाली सुधार गर्न संविधानमा भएको व्यवस्थाअनुसार सरकारले जेठ १५ मा नै बजेट ल्याउन थालिएको थियो । त्यसैले नयाँ आर्थिक वर्षको बजेट अघिल्लो आर्थिक वर्षमै पारित हुने गरेको छ ।

    सरकारले खर्च गर्नका लागि छुट्टै अख्तियारी पठाइरहन नपर्ने, आर्थिक वर्ष सुरु भएको पहिलो दिनदेखि नै अधिकारप्राप्त अधिकारीलाई बजेट खर्च गर्ने अख्तियारी हुने र त्यसअनुसार मातहतका निकायलाई विनियोजित रकम निकासा दिन सक्ने व्यवस्था पनि गरिएको हो । आर्थिक वर्षको फागुनसम्म स्वीकृत नभएका कार्यक्रमको बजेट ‘सरेन्डर’ गरी ढुकुटीमा ल्याउने अभ्यास पनि अबलम्बन गरिएको छ ।

    तर, पनि असारमै आएर विकास बजेटको ठूलो हिस्सा खर्चिने प्रवृत्तिमा कमी आउन सकेको छैन । पूँजीगत खर्चको दर बढाउन अहिले अर्थमन्त्रालयले जथाभावी रकमान्तर पनि गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images