images
images
  • घूस काण्डमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बन’

    काठमाडौँ- घूस काण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

    न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

    छानबिन समिति गठन बारेको सूचना आज (सोमबार) राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

    राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

    न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैँतालिस दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सो समयसम्म प्रतिवेदन पेस गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

    छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images