
काठमाडौं- नेता उत्पादन गर्ने उद्देश्यका साथ ‘द लिडर’ नामक टेलिभिजन रियालिटी शो गर्ने चर्चित पूर्व सञ्चारकर्मी रवि लामिछानेको उद्घोष संगै देश भरका हजारौँ युवाहरुले तोकिएको शुल्क तिरेर आ आफ्नो नाम दर्ता गराए । तर बिडम्मना हाल सम्म न त कार्यक्रम भयो न त पैसा नै फिर्ता पाए ।
२०७६ मंसिर २७ गते रवि लामिछानेले ‘द लिडर’ कार्यक्रमको औपचारिक घोषणा गरेका थिए । त्यस पश्चात लामिछाने कै विश्वासमा देशभरका हजारौँ युवाहरुले प्रति व्यक्ति एक हजारका दरले आफ्नो नाम दर्ता गराए । तर विश्वास आज धोकामा परिणत भएको अधिकांश सहभागिहरुले बताएका छन् ।
‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी नै रहेको थियो । तर आज सम्म कार्यक्रम किन संचालनमा आउन सकेन भन्ने सबैको जिज्ञासा बनेको छ । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने कार्यक्रमले उद्घोष गरेको थियो । तर उक्त उद्घोष आश्वासन जस्तै भएको छ नाम दर्ता गराउनेहरुको लागि ।
हजारौँ संख्यामा नाम दर्ता गराएका अधिकांश युवाहरुले कार्यक्रमको आश मारिसकेका छन् । कार्यक्रम मात्र होईन आफूले तिरेको रु एक हजार पनि माया मार्न बाध्य छन् । केहिले भने उक्त रकम फिर्ता मागिरहेका छन् । तर रकम फिर्ता गर्न आनाकानी गर्दैछन् रवि लामिछाने ।
कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले असार २ गते फेसबुकमा एउटा स्ट्याटस लेखे। उनको स्ट्याटस पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेसँग सम्बन्धित थियो।
न्यौपानेले लेख्छन्, ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै ‘द लिडर’ कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो। सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ। तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ। आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ। ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो।’
उनी अगाडि लेख्छन्, ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो। अर्थात् ३०४७१×१०००= ३०४७१००० रकम हुन आउँछ। मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान्। अब हामी सबैको पैसाको जिम्मा कसले लिने? तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो। पैसा बुझाएको प्रमाण कतै दिइएन। रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो। रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन। तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता।’
यी सबै विवरण विस्तार लगाएपछि आखिरीमा न्यौपाने लेख्छन्, ‘अब यत्ति पढेपछि आलोचना सहन नसक्ने गाली गर्न आउने होलान्।’
उक्त स्ट्याटस पढेर धेरैले गाली गरेका भए पनि चार-पाँच जनाले आफूहरूले पनि पैसा फिर्ता नपाएको भन्दै सम्पर्क गरेको न्यौपानेले बताए। ‘उहाँहरूले कुन फेसबुक पेजमा स्ट्याटस लेखेर पैसा फिर्ता लिन भन्नुभएको थियो रे। हामीले त रवि लामिछानेको अनुहार सम्झेर रजिस्ट्रेसन गरेका थियौं। अरू पेज-सेजमा आएको कुरा थाहा पाएनौं,’ न्यौपानेले भने।
उनका अनुसार बिहीबार ग्यालेक्सी फोरकेबाट एक जनाले सम्पर्क गरेका थिए। पैसा पठाइदिन्छु भनेर खाता नम्बर मागेको उनले बताए।
न्यौपानेको स्ट्याटसले दुइटा प्रश्न उब्जाउँछ।
पहिलो, उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ।
दोस्रो, कार्यक्रम नहुने भएपछि आयोजकले फटाफट पैसा फिर्ता गरिदिनुपर्नेमा अल्झाउन खोजेको देखिन्छ।
२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो। पत्रकार सम्मेलनमा बोल्दै रवि लामिछानेले भनेका थिए, ‘एउटा परिपक्व लिडर कसरी बनाउने? भिजन भएका मानिसहरूलाई कसरी समावेश गराउने? उहाँहरूलाई हाम्रा निर्णायकहरूबाट अझ कसरी तिखार्दै लगेर साँच्चै नै एउटा राष्ट्रको सेवक कसरी बनाउने भन्नेमा जोड दिएर यो कार्यक्रमलाई जोडेका छौं।’
सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए। रवि लामिछानेले आफू कार्यक्रम सञ्चालक मात्र भएकाले कति जनाले रजिस्ट्रेसन गरे र तीमध्ये कतिको पैसा फिर्ता भयो र कतिको अझै बाँकी छ भन्ने ठ्याक्कै तथ्यांक नभएको बताए।
आफूले ग्यालेक्सी फोरकेमा अन्तिमपटक चलाएको कार्यक्रमबाट पनि पैसा फिर्ता लिन भनेको र त्यसअघि पनि धेरैपटक भनिसकेको उनको भनाइ छ। आयोजकले पैसा फिर्ता नदिए आफूले नैतिक जिम्मेवारी लिँदै सबैको पैसा फिर्ता गरिदिने लामिछानेले बताए।
उनले ११ सय जनाभन्दा बढीले रजिस्ट्रेसन गरेको र तीमध्ये ७० प्रतिशतले पैसा फिर्ता लिइसकेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्