images
images
  • बूढीगंगाको मेयरमा दाइलाई जिताउन महान्यायाधिवक्ताको हदैसम्म जबर्जस्ती

    पुन: निर्वाचन २३ असारमा

    बाजुरा- सरकारका कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता खम्मबहादुर खातीले सहोदर दाजुलाई मेयरमा निर्वाचित गराउन पदीय दुरुपयोग गरेको घटना तथ्यसहित खुलासा भएको छ।

    गृहजिल्ला बाजुराको बूढीगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट महान्यायाधिवक्ताका दाजु रंग बहादुर खाती मेयरका उम्मेदवार थिए। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामबहादुर बानियाँ उम्मेदवार बने। एमालेमा बढी भोट खसेको सूचना बाहिरिए पछि महान्यायाधिवक्ता खातीले स्थानीय भानोदय मावि मतदान न्द्रमा भएको निर्वाचन स्थगित गर्न पटक–पटक फोनमा दबाब दिएको पाइएको छ। त्यसलगत्तै मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी मतपेटिका लगायत निर्वाचन सामग्री छोडेर हिँडेका थिए।

    निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचनको घोषणा गर्नुपर्ने पत्र मुख्य निर्वाचन अधिकृतलाई पठाएका थिए। मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले मतदानस्थलबाट एक्कासि सुरक्षाकर्मी फिर्ता भएको र फिर्ता हुनुपूर्व आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरेका छन्। निर्वाचन आयोगद्वारा गठित छानबिन समितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा पनि महान्यायाधिवक्ता खातीले निर्वाचन स्थगित गर्न बारम्बार फोन गरेर दबाब दिएको उल्लेख छ।

    महान्यायाधिवक्ता खातीले बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र बूढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटालाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाब दिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। ‘महान्यायाधिवक्ता खातीले निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादाविपरीतको कार्य गरेको पाइएको छ,’ स्रोतले भन्यो। महान्यायाधिवक्ता खातीले निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गरेको आयोगले जनाएको छ।

    निर्वाचनका क्रममा निर्वाचन अधिकृतलाई पटक–पटक घेराउ, होहल्ला, हुल हुज्जत, आक्रमणको प्रयास, मोबाइल फोन कब्जामा लिने प्रयास, धम्कीपूर्ण फोनलगायतका असाध्यै अमानवीय व्यवहार भएको आयोगद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। निर्वाचन अधिकृतले निर्वाचनका क्रममा बाँकी काम गर्न असमर्थ रहेको व्यहोरा जनाएका थिए।

    स्पष्टीकरण माग
    छानबिन समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले पदीय दायित्वविपरीत कार्य गरेको उल्लेख छ।

    प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादाविपरीतको कार्य गरेको पाइएकाले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिँदा निजसँग सो विषयमा स्पष्टीकरण माग गर्न उपयुक्त देखिन्छ।’

    प्रमुख निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले पनि महान्यायाधिवक्ता खातीले नगरपालिकाको २ र ३ वडामा के भएको भनी फोन गरेर चासो व्यक्त गरेको छानबिन समिति समक्ष स्वीकारेका छन्। वडा नं १, ६, ८ र १० को मतदान कार्यका सम्बन्धमा दिनभर एक पटक पनि फोन नआएको मौखिक रूपमा बताएका छन्।

    निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले पेस गरेको छुट्टै प्रतिवेदनमा पनि महान्यायाधिवक्ता खातीले मतदान स्थगित गर्न फोन गरेको उल्लेख छ। ‘स्थानीय नागरिकको रूपमा रहनु भएका नेपाल सरकारका माननीय महान्यायाधिवक्ताज्यूले भानोदय मावि मतदान केन्द्रमा भएको निर्वाचन स्वच्छ नभएको र स्थगन गर्न पटक–पटक फोनमा आग्रह गर्नुभएको। उनले वैशाख ३० गते ५ (पाँच) पटक फोन सम्पर्क गर्नु भएको, दुई पटक कल मिस भएको हुँदा निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले १० पटक सम्पर्क गरेको’ प्रतिवेदनमा उल्लेख छ। यस सम्बन्धमा अन्नपूर्ण पोस्ट्ले पटक–पटक सम्पर्क गर्दा महान्यायाधिवक्ता खातीले फोन उठाएनन्।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४० को उपदफा १ मा कुनै मतदान केन्द्रमा हुलदंगालगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा उपद्रव वा प्राकृतिक विपद् वा काबु बाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा त्यस्तो मतदान केन्द्रमा मतदान कार्य तत्काल स्थगित गर्न सक्ने कानुनी व्यवस्था छ। आयोगको स्थलगत प्रतिवेदनअनुसार, कुनै पनि मतदान केन्द्रमा कुनै पनि मतदान अधिकृतले मतदान कार्य स्थगित भएको सूचना टाँस गरेको पाइएन।

     सुरक्षाकर्मी फिर्ताका लागि माथिको आदेश…
    मतदानका क्रममा दुई पक्षबीच पटक–पटक झडप र वादविवाद भएको जनाइएको छ। सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गरेको भनि सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरूले दिएको प्रतिवेदनमा उल्लेख छ। मतदान कार्यमा खटिएका कर्मचारी, मतदान सामग्री तथा मतदाताको सुरक्षा दिनुको साटो आफ्नो जीउ ज्यानको असुरक्षा भएको भन्दै फिर्ता भएका थिए। ‘सुरक्षाकर्मी खटाएको स्थानबाट माथिको आदेश छ, भन्दै अन्दाजी ४ देखि ५ बजेको बीचमा फिर्ता भएको पाइयो। कतिपय स्थानमा खटिएका सुरक्षाकर्मी सम्बन्धित मतदान अधिकृतलाई जानकारी नदिई फिर्ता भएको प्रतिवेदनमा उल्लेख छ।

    एमालेको तर्फबाट पेस गरिएको प्रतिवेदनमा वडा नं ४ र ७ को मतदान केन्द्र कब्जामा लिई एमाले समर्थकलाई भोट खसाल्न नदिइएको उल्लेख छ। कांग्रेस उम्मेदवार खातीले वडा नं २, ३, ५ र ९ को मात्र मतदान बदर गरी पुनः अर्को मतदान गरी पाउँ भन्दै माग गरेका थिए। उनले बाँकी ६ वडाको निर्वाचन यथावत् राखी मतगणना गरी पाउँ भन्ने माग गरेका थिए। आयोगले वडा नं २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न पर्याप्त कानुनी आधार नदेखिएको जनाएको छ।

    सुरक्षा निकायको लापरबाही
    निर्वाचन आयोगले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

    आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने कार्य गरेकाले विभागीय कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। आयोगले गत जेठ १२ गते बूढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा ९४० बमोजिम उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।

    छानबिन समितिको प्रतिवेदनका मुख्य बुँदा
    – स्थानीय नागरिकको रूपमा रहनुभएका नेपाल सरकारका माननीय महान्यायाधिवक्ता श्री खम्बबहादुर खातीज्यूले भानोदय मावि मतदान केन्द्रमा भएको निर्वाचन स्वच्छ नभएको र स्थगन गर्न पटक–पटक फोनमा आग्रह गर्नुभएको। उनले वैशाख ३० गते ५ ९पाँच० पटक फोन सम्पर्क गर्नु भएको, दुई पटक कल मिस भएको हुँदा निर्वाचन अधिकृतले १० पटक सम्पर्क गरेको।

    – मिति २०७९।०१।३० र ३१ गते निर्वाचन अधिकृतमाथि गरिएको पटक पटक घेराउ, होहल्ला, हुल हुज्जत, आक्रमणको प्रयास, मोबाइल फोन कब्जामा लिने प्रयास, धम्कीपूर्ण फोन, फितलो सुरक्षा व्यवस्था, परिवारमा परेको तनाव लगायत व्यहोराको असाध्यै अमानवीय व्यवहारका कारण निर्वाचन अधिकृतले उक्त स्थानमा निर्वाचनका बाँकी काम गर्न असमर्थ रहेको व्यहोरा अनुरोध गरिएको।

    –आफ्नो पदीय दायित्वभन्दा बाहिर गई महान्यायाधीवक्ता श्री खम्मबहादुर खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाब दिएको र निर्वाचनको क्रममा हस्तक्षेप गरि पदीय मर्यादा विपरितको कार्य गरेको पाइएकोले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिंदा निजसँग सो विषयमा स्पष्टीकरण माग गर्नु उपयुक्त देखिन्छ। -आजको अन्नपुर्णबाट

    पुन: निर्वाचन २३ असारमा
    बुढीगंगामा स्थानीय तहको निर्वाचन असार २३ गते हुने भएको छ । असार २ गते (विहीबार) बसेको सर्वदलीय बैठकले निर्वाचन २३ गते विहीबार गर्ने निर्णय गरेको हो । विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा उक्त मिति तय भएको हो ।

    बुढीगंगा नगरपालिकाको निर्वाचनको मिति तोक्न पाँचौ पटक बसेको सर्वपक्षीय सर्वदलीय बैठकमा ६ वटा दलबीच सहमति भएपछि २३ गते निर्वाच गर्ने मिति तोकिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।

    वैशाख ३० गते भएको निर्वाचन स्वच्छ र निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले निर्वाचन रद्द गरी पुनः चुनाव गर्ने निर्णय गरेको थियो । धाँधलीरहित सम्पन्न भएको निर्वाचन रद्द गर्न नमिल्ने भन्दै केही समयसम्म विवादीत बनेको थियो ।

    आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जेठभित्र निर्वाचनको मिति तोकेर निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images