काठमाडौं- यो साता शेयर बजारका लगानीकर्ताहरूको सम्पत्तिको मूल्य रू. १ खर्ब ६ अर्ब ८९ करोड ३८ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. २९ खर्ब १७ अर्ब ५९ करोड रहेको कुल बजारपूँजीकरण यो साता रू. २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख कायम भएको हो ।
यो साता नेप्से परिसूचक गत साताको तुलनामा ७६ दशमलव ७८ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव १६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ९७१ दशमलव ३८ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक एक कारोबार दिन मात्र बढेको छ भने चार कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन १५ दशमलव ८२ अंक घटेको बजार दोस्रो दिन ३६ दशमलव शून्य ८ अंकले घटेको थियो । त्यस्तै तेस्रो कारोबार दिन २९ दशमलव ८९ अंकले घटेको बजार चौथो कारोबार दिन १२ दशमलव ५७ अंकले बढेको थियो । साताको अन्तिम कारोबार दिन भने नेप्से परिसूचक ७ दशमलव ५६ अंकले घटेर बन्द भएको हो ।
गत भदौ २ गते ३ हजार २०० विन्दु पार गरेको नेप्से पछिल्लो समय २ हजार विन्दुमुनि झरेको हो । पछिल्लो समय राष्ट्र बैंकको नयाँ नीतिगत व्यवस्थाका कारण नेप्से परिसूचक निरन्तर घटेको भन्दै आम लगानीकर्ता उक्त नीति परिवर्तनको माग गर्दै आन्दोलनरत् रहेका छन् । उनिहरूले विशेष गरी शेयर धितोकर्जामा लगाएको रू. ४ करोडदेखि रू. १२ करोडको सीमा हटाउँन माग गरेका छन् । राष्ट्र बैंकले साना लगानीकर्ताहरूको हितका लागि लागू गरेको उक्त व्यवस्थाले साना लगानीकर्ताहरूनै मारमा परेको गुनासो लगानीकर्ताहरूले गरेका छन् ।
निरन्तर घटेर २ हजार विन्दुमुनी झरेको नेप्से अब कता जाला भन्ने अन्योलता लगानीकर्तामा देखिएको छ । ज्यानकै बाजी राखेर लगानीकर्ता तिलक कोइराला असार १ गतेदेखि आमरण अनसनमा बसेका छन् । १९ बुँदे माग सहित आमरण अनसनमा बसेका कोइराला बजार सुधारका लागि योनै अन्तिम लडाई रहेको बताउँछन् । सरकारले आम लगानीकर्ताहरूको माग सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता अब बजारले सकारात्मक गति लिनेमा भने विश्वस्त रहेको देखिन्छ ।
यो साता कारोबार रकम पनि गत साताको तुलनामा रू. ९९ करोड ३९ लाख २६ हजारले घटेको छ । गत साता रू. ६ अर्ब ५९ करोड ३३ लाखभन्दा बढीको २ करोड ५ लाख ५ हजार १९५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ५ अर्ब ५९ करोड ९४ लाख ३६ हजार बराबरको १ करोड ७१ लाख ९९ हजार ९२४ कित्ता धितोपत्र खरीदविक्री भएको हो ।
यो साता लगानी समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता सबै समूहगत उपसूचकहरू घटेका छन् । जसमध्ये लगानी समूहको उपसूचक सर्वाधिक ५ दशमलव ९८ प्रतिशत घटेको हो । त्यस्तै जलविद्युत समूहको ५ दशमलव ६४ प्रतिशत, व्यापारिक समूहको ५ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमा समूहको ५ दशमलव ४५ प्रतिशत, जीवन बीमा समूहको ५ दशमलव २४ प्रतिशत उपसूचक घटेको छ ।
यो साता वित्त समूहको ४ दशमलव ८१ प्रतिशत, विकास बैंक समूहको ३ दशमलव ९२ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७४ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव १० प्रतिशत, बैंकिङ समूहको २ दशमलव ८२ प्रतिशत, अन्य समूहको १ दशमलव ६८ प्रतिशत र म्युचुअल फण्ड समूहको १ दशमलव ५६ प्रतिशत उपसूचक घटेको हो ।



विश्व खबर 



















