
काठमाडौं- नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ।
समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रने छ। समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्।
समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। शीर्ष २र२ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्। नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो।
नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले आफ्नो लक्ष्य सबैलाई जित्ने रहेको बताएका छन्। ‘हामीले सबै खेल जित्ने नै हो। समूहमा शीर्षस्थानमा रहेपछि हामीलाई पनि सहज हुन्छ। प्रयास छनोट हुने हो’, उनले भनेका थिए।
नेपाली महिला टोली टी–२० आई विश्व वरीयतामा १७औं र भुटान ४७औं स्थानमा छ। नेपाल र भुटानबीच महिला टी२० आईमा एक खेल भएको छ। गत पुसमा आईसीसी वुमन्स टी२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो।
नेपाली महिला टोली:
रुविना क्षेत्री बेलबासे (कप्तान)
इन्दु बर्मा (उपकप्तान)
सीता रानामगर
ज्योति पाण्डे
कविता कुँवर
अश्मिना कर्माचार्य
कविता जोशी
ममता चौधरी
डली भट्ट
विन्दु रावल
संगिता राई
अप्सरी बेगम
काजोल श्रेष्ठ (विकेटकिपर) र
सबनम राई
प्रतिक्रिया दिनुहोस्