काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई कोरोना नियन्त्रणमा केन्द्रीत हुन सुझाव दिएको छ। सभापति शेरबहादुर देउवाले पार्टीले जेठ ६ गते बुझाएको ज्ञापनपत्र अनुसार कोरोनाको नियन्त्रणमा लाग्न आग्रह गरेका हुन्।
अहिलेको जटिल अवस्थामा सरकारको ध्यान जनताको जीवनरक्षामा भन्दा सत्तामा कसरी टिक्ने भन्ने षड्यन्त्रमै बितिरहेको आरोप देउवाले लगाएका छन्।
‘सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनु पर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पिरमर्काहरु गौण हुन पुगेका छन्,’ देउवाले अगाडि भने, ‘अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौती मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको बेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ।’
कांग्रेसले आफ्नो अकर्मण्यता ढाकछोप गर्न निषेधाज्ञाको साहार लिएको आरोप लगाएको छ।
‘सरकारको अकर्मण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ। तर निषेधाज्ञाको असर पनि हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन,’ कांग्रेसले भनेको छ।
सभापति देउवाले सरकारलाई काम चलाउन हैसियत प्राप्त गरको अवस्थामा दुरगामी निर्णय नलिन सुझाव दिएका छन्। संसदीय प्रक्रियालाई छलेर राज्यका लागि असर पर्ने महत्वपूर्ण निर्णय नलिन उसले देउवाले चेतावनी दिएका छन्।
उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ। संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिँदैछ। सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनैपनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु।’
प्रतिक्रिया दिनुहोस्