images
images
  • वृद्धवृद्धालाई एक्लोपन नै चुनौती

    भक्तपुर-भक्तपुरका ७१ वर्षीय सुरेन्द्र कार्कीले श्रीमति गुमाएको पाँच वर्ष भयो । पाठेघरको क्यान्सरबाट ग्रसित उनकी श्रीमतिले उपचारकै क्रममा ज्यान गुमाएकी थिइन् । “समयमै क्यान्सर भएका थाहा नपाएपछि क्यान्सरको अन्तिम चरणमा मात्र थाहा पाएका थियौँ”, उनले भने ।

    श्रीमति सुन्तली र उनको जोडीलाई पहिले गाउँमा धेरैले उदाहरणीय जोडी मान्थे । उनी पनि श्रीमतिबिना बस्नै सक्दैनथे । तर उनकी श्रीमतिले भने आफूलाई भएको समस्याका विषयमा कहिल्यै श्रीमानलाई बताइनन् । श्रीमतिको मृत्युपछि आजकल उनी एक्लै बस्न रमाउन थालेका छन् । तीन जना छोरा, उनीहरुका श्रीमति र सात जना नातिनातिना भएपनि आफूले खुलस्त रुपमा मनका भावना कसैसँग पनि पोख्न सकेका छैनन् । भन्छन्, “सुन्तलीले छाडेर गएपछि एक्लो महसुस गर्न थालेको छु ।” त्यसो त उनी गाउँमा साथीभाइ भेट्न भनेर पनि कतै जाँदैनन् । न कसैसँग धेरै कुरा नै गर्छन् । श्रीमतिको मृत्युपछि मनका भावना पोख्ने कोही पनि नपाएको उनी बताउँछन् ।भक्तपुरकै ६५ वर्षीय पार्वती थापा र उनका श्रीमान शिव थापाको कथा भने फरक छ ।

    हाल उनीहरुका एक छोरा अष्ट्रेलिया, एक छोरा र एक छोरी अमेरिका र एक छोरी जापानमा छिन् । छोराछोरी विदेशमा भएकाले हाल उनीहरु श्रीमान श्रीमति मात्र नेपालमा बस्छन् । त्यसो त उनका छोराछोरीले उतै बस्न नबोलाएका होइनन् । केही समय छोराछोरीसँग अमेरिका गएर बसेका उनीहरु त्यता रमाउनै सकेनन् ।पार्वती भन्छिन्, “उता हामीले भाषा समेत बुझ्दैनौं, न त्यताको समाजसँग घुलमिल हुन नै सक्छौं । त्यसैले हामीले नेपाल नै फर्कने निर्णय गर्याैं ।” छोराछोरी भने नेपाल फर्कन नचाहेकोे उनी बताउँछिन् ।

    उनीहरुको लागि आवश्यक खर्च छोराछोरीले नै पठाइदिन्छन् । तर पनि छोराछोरीको कमी पैसाले कहाँ पुरा गर्न सक्छ र ? कहिलेकाहीँ आफूहरु दुवैजना बिरामी पर्दा पानी तताएर दिने समेत कोही नहुने गरेको उनी बताउँछिन् ।त्यहाँकै ७० वर्षीय बालकुमारी बस्नेतको कथा पनि उस्तै छ । उनका दुवै भाइ छोरा अमेरिकामा छन् । उनका छोराहरुले पनि उतै नबोलाएका हैनन् । तर उनलाई आफ्नो गाउँ छोडेर कतै जान मन लाग्दैन । उनको श्रीमान् बितेको पनि २० वर्ष हुन लागिसक्यो । श्रीमान छँदै उनका छोराहरु अमेरिका गएका थिए । कहिलेकाहीँ बिदामा छोराहरु उनलाई भेट्न नेपाल आउँछन् र सँगै अमेरिका लैजान धेरै जोड गर्छन् । उनले धेरै पटक इन्कार गरिसकेपछि भने उनका छोराहरुले उनलाई कर लगाउनै छाडिसके ।

    “छोराहरुले दिनको एकपटक फोन गर्छन्, त्यो नै मेरा लागि काफी छ”, उनले भनिन् । विदेशमा कामका कारण छोरा बुहारीले समय नदिने गरेको उनले छिमेकीबाट सुनेकी थिइन् । कतिपटक त उनकी छिमेकी अमेरिकामा छोराको घरमा बस्दा छोरा बुहारीबाटै दुव्र्यवहारमा परेकी रहिछन् । छोरा बुहारीले आफूलाई सँगै बस्दा पनि वास्तै गर्न छाडेपछि उनकी छिमेकी नेपाल फर्किएकी रहिछन् । उनी भन्छिन्, “नेपालमा आफ्ना आफन्त र साथीभाइ त सँगै छन्, उता गयो भने झनै एक्लै परियला भनेर नै जान मन लागेन ।”

    उमेर बढ्दै जाँदा वृद्धवृद्धा छोराछोरीले आफूलाई बढी वास्ता गरुन् भन्ने चाहन्छन् । विवाहपछि पनि छोराछोरीको आफ्नै जिम्मेवारी बढ्ने हुँदा व्यस्तता बढ्ने कारण नै अभिभावकलाई समय दिन नसक्ने मनोविदहरु बताउँछन् । विस्तारै उनीहरुले छोराहरु टाढा भएको महसुस गर्न थाल्ने उनीहरुको भनाइ छ ।त्यसैगरी विवाह गरेकी आएकी बुहारीको सोच र व्यवहार परिवारसँग नमिल्दा पनि फरकपना आइरहेको पाइन्छ । एउटै घरमा वर्षाैंदेखि सँगै बस्दै आइरहेका छोराछोरीसँग विचार त मिल्दैन भने अर्काेको घरबाट आउने बुहारीको स्वभाव फरक हुनु सामान्य नै हो । सबैलाई आफ्नो सोच र विचार मात्र ठीक लाग्छ । अरुले गलत भन्न थालेपछि सानोतिनो कुराबाट नै परिवारमा खटपट हुने गरेको देखिन्छ । एकले अर्काको बानी स्विकार्न नसक्दा पनि खटपट सुरु भइ कलहको स्थिति समेत सिर्जना हुन सक्छ । नेपालमा एकल परिवारको संख्या बढ्दै जाँदा छोरीबुहारीहरु संयुक्त परिवारमा रमाउन नसक्ने मनोविदहरु बताउँछन् । बुढेसकालमा वृद्धवृद्धालाई धेरै माया र स्याहारको आवश्यकता पर्ने मनोविदहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images