images
images
  • धरानेको हर्ष बन्लान् त हर्क ?

    देवेन्द्र कार्की
    धरान- स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् ।साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।सामाजिक अभियन्ताका रूपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए ।

    एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका छन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४ सय ४२ मत प्राप्त गरेका थिए ।

    को हुन हर्क साम्पाङ :

    हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा संघर्षरत व्यक्ति हुन् । ०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए ।

    उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङवेज सेन्टर’मा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरेका थिए । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा ६ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लाग्दै आएका थिए ।

    अहिले उपमहानगर प्रमुखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो ।

    उनले धरानको धनकुटे मार्ग भएर जाने १ सय ५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट आफ्नो समाजिक काम सुरुआत गरेका हुन् । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

    सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलोपटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए ।

    यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै आए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे उनी ।

    ‘सतिसाल’झैँ नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा आज अरूको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ ।

    त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनले सुनाए । ‘यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उहाँहरूप्रति धेरै कृतज्ञ छु,’ नवनिर्वाचित साम्पाङले भने ।

    ०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बने । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।उनले धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताएका छन् ।

    ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ’, उनले भने । धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् ।

    उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो ।

    साम्पाङ पनि त्यसमा जोडिएर सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

    ‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद् विषय हो,’ महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् ।

    धरानमा पछि पर्यो एमाले

    वामपन्थी गढका रूपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

    स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् ।

    ठूलो संघर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहेका थिए, हर्क साम्पाङले जीत हासिल गरे ।

    धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो । ०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा ०४८ र ०५४ सालमा भएका निर्वाचानमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए ।

    ०४८ मा ध्यानबहादुर राई, ०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जित हासिल गरेका थिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे ।

    ०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरे भने प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका थिए ।

    धरानको कुल मतदाता १ लाख ३ सय २४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images