images
images
  • नारायणकाजी लागाएतका नेतालाई प्रचण्डको जवाफः गठबन्धन जोगाउन एमसीसको व्याख्यात्मक घोषणामा सहमति

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

    अध्यक्ष  प्रचण्डले  एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण दिएका छन् । एमसीसीकै विषयमा पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेको बेला प्रचण्डले एमसीसीको सम्बन्धमा आफूले लिएको निर्णयको बचाउ गर्दै लामो प्रष्टीकरण दिएका हुन् ।

    एमसीसीकै विषयमा करिब आधा घण्टा बोलेका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर ब्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका छन् ।

    माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ । एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो ।

    प्रचण्डले एमसीसीमा गठबन्धन दलभित्र देखिएको विवादका कारण एमालेतिर प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणासहितको एमसीसी पास भएपछि समीकरण जोगिएको बताएको एक केन्द्रीय सदस्यले बताए ।

    व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको पनि बैठकमा बताएका थिए । ‘हामीले एमसीसी परिमार्जन, संशोधन र राष्ट्रिय सहमति बनाएर अघि बढाउनुपर्छ भनेका थियौँ । हामीले रिजेक्टमा त हामीले भनेका छैनौँ । यद्यपि अध्ययन गर्दै जाँदा कतिपय साथीहरुलाई स्वीकार गर्न नहुने लागेको छ’, प्रचण्डले भने, ‘नेपालको संविधान र कानुनको व्यवस्थालाई कमजोर पार्ने गरी भएका प्रावधानलाई स्वीकार्न सकिँदैन । नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोत साधान नेपालको बाहेक अरुको हुनसक्दैन । लेखापरीक्षण लगायतका विषयहरु नेपालले नै गर्न पाउनुपर्छ ।’

    उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, कामधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले व्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो त्यो भत्कियो ।”

    उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमा समेत कायम हुने अवस्था निर्माण भएको बताए ।

    प्रचण्डले बैठकमा व्याख्यात्मक घोषणासहितको एमसीसी नै लागू हुने भएकाले सबै ढुक्क हुनुपर्ने बताएका थिए । माओवादी बिनै एमसीसी पारित गर्नका लागि सभामुखलाई महाभियोग समेत लगाउने तयारी थाहा पाएको प्रचण्डको भनाइ थियो । एमाले र काँग्रेस मिल्दा सभामुखको पद पनि जोगिन सक्ने अवस्था नरहेकाले पार्टीले टेबुलसम्म गर्न दिने नीति लिएको प्रचण्डको भनाइ थियो ।

    संसदमा एमसीसी टेबल भइसकेपछि व्याख्यात्मक टिप्पणीबाट बीचको बाटो खोज्न सकिनेबारे छलफल चलाएर गठबन्धनलाई बनाउन सकिएको प्रचण्डले दोहोर्याए । व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै प्रचण्डले अन्तरराष्ट्रिय सम्बन्धका जानकारहरुले दिएको सुझावका आधारमा अघि बढिएको बताए ।

    माओवादी र समाजवादीबिनै एमसीसी पारित नहुने सन्दर्भमा काँग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउनेसम्मको योजना भएको पनि प्रचण्डको भनाइ थियो । यसका लागि काँग्रेसले गठबन्धनसँगै एमालेसँग पनि समानान्तर छलफल चलाएको स्पष्ट रहेको प्रचण्डको भनाइ थियो ।

    यस्तो पृष्ठभूमिमा राजनीतिमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने भएकाले एमसीसीका सन्दर्भमा लिइएको निर्णय सही भइएको पनि बताए । शान्तिप्रक्रियाका कतिपय विषय अझैपनि टुंगोमा नपुगेकाले त्यसका लागि पनि राजनीतिमा सुझबुझपूर्ण निर्णय लिनुपर्ने जरुरी हुने बताए ।

    प्रचण्डले शान्तिप्रक्रिया टुंगिएको अवस्था हुन्थ्यो भने एमसीसीका सन्दर्भमा फरक किसिमको निर्णय लिन सकिने अवस्था रहेको बताएका थिए । शान्तिप्रक्रियालाई टुंगोमा पुग्न नदिन अझैपनि अनेकन षड्यन्त्र भइरहेको प्रचण्डको भनाइ थियो ।

    माओवादीभित्र नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पास गर्न पार्टीले सघाएको विषयमा तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images