images
images
  • व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएको छ ।

    प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।

    उनले पहिले एमसीसी राष्ट्रघाती भएको बताएको र अहिले व्याख्यात्मक घोषणाका नाममा कार्यकर्तालाई मूर्ख बनाइएको उनको भनाइ छ ।

    “व्याख्यात्मक घोषणा भनेको जे भनेको छ त्यही स्पष्ट पार्ने । जे हो त्यही हो । हिजो गलत थियो, आज सही थियो भन्ने हन्छ र ? उहाँहरूले भन्नुपर्‍यो हिजो बुझेका रहेनछौँ । बुद्धिजीवीहरूले व्याख्यात्मक घोषणा गरेपछि छ्याङ्ङ भयौँ,” उनले भने ।

    प्रचण्ड र नेपालले तत्कालीन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरर राष्ट्रघाती काम गर्न लागेकोे आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न सहयोगी बनेको पोखरेलले बताए । हाल प्रचण्ड र नेपाल गलत साबित भएको भन्दै उनले सँगै गएका नेता–कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह समेत गरे ।

    उनले भने-“अब माधव नेपालतिर गएका साथीहरू या प्रचण्डतिर गएका साथीहरूले अब बुझ्ने बेला भयो । नेकपाको अन्तरसंघर्षमा उहाँले जे पोजिसन राख्नुभएको थियो, त्यो पोजिसनको अन्त्य भयो । उहाँहरू गलत साबित हुनुभयो । नेकपा एमाले अर्थात् केपी ओलीको नेतृत्वमा हामीले राख्दै आएको अडान सही साबित भएका छन् । त्यस अर्थमा तपाईंहरू फर्कनुस् । त्यहाँ रहिरहनुपर्ने जरुरी छैन । आउनुस्, हामी मिलेर हामी बलियो पार्टी निर्माण गरौँ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images