काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले संसद्मा एमसीसीमाथिको छलफलमा सहभागी भएर ‘हिरो’ बन्न खोजेको भन्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको जवाफ दिएका छन् ।
बुधबार रावलले ओलीलाई देशको पक्षमा बोल्दा मन पोलेको भए आफू ‘महाहिरो’ भएको भए हुने भन्दै जवाफ दिएका हुन् ।
“राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसद्मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया १,” उनले ट्विटमा लेखेका छन् ।
रावलले आफू पार्टीको सिद्धान्तअनुरूप नै रहेको पनि बताएका छन् । “एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,” उनले लेखेका छन्, “संसद्मा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत हो । म पार्टी सिद्धान्तअनुरूप उभिएको छु ।”
रावलले एमसीसीमाथिको छलफलका क्रममा पार्टीको अवरोधबीच संसद्मा बोलेका थिए । सोही विषयलाई लिएर ओलीले बुधबारको पत्रकार सम्मलेनमा ‘हिरो’ हुन खोजेको आरोप लगाएका थिए ।



विश्व खबर 


















