images
images
  • दुई युवाले संसद भवनकाे मुलगेट अगाडी बाक्लाे सुरक्षाकर्मीलाई छल्दै यसरी राखे ‘शंकास्पद वस्तु’ !

    काठमाडौं- बानेश्वरस्थित संसद भवनको १ नम्बर गेटअगाडि भेटिएको शंकास्पद वस्तु (प्रेसर कुकर) नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

    संसद भवनको सिधा अगाडि व्यस्त सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको हो।

    उक्त शंकास्पद वस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो। सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको नेपाली सेनाले जनाएको छ।

    आइतबार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन्।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन्।

    सोही क्रममा शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि ‘बम हो’ भनेर बानेश्वर क्षेत्रमा त्रास उत्पन्न भयो। व्यापक मात्रामा सुरक्षाकर्मीहरु समेत परिचालन भए।

    नेपाल प्रहरीका अनुसार बन्दकर्ताले नै ‘प्रेसर कुकर राखेर हिँडेको हुनसछ। विप्लव नेतृत्वको कार्यकर्ताले उक्त क्षेत्रमा शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

    मोटरसाइकलमा सवार दुईजना युवाले संसद भवनको एक नम्बर गेट अगाडि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु (प्रेसर कुकर) राखेको प्रहरीको दाबी छ।

    १० बजेर ५७ मिनेट जाँदा उक्त क्षेत्रमा शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसर, काठमाडौंमा एकजना सिनियर प्रहरी अधिकारीले जानकारी दिए।

    ‘मोटरसाइकलमा सवार ती दुईजना युवाले संसद भवनको गेटमा खटिएका प्रहरी कर्मचारीहरुको आँखै अगाडि शंकास्पद वस्तु राखेर गएको सीसीटिभी फुटेजमा देख्न सकिन्छ,’ ती अधिकारीले भने।

    यद्यपी उनीहरु सवार मोटरसाइकल नम्बर अहिलेसम्म खुल्न सकेको छैन। ती प्रहरी अधिकारी भन्छन्, ‘मोटरसाइकल नम्बर क्लियर देखिएको छैन। तर, मान्छेको हुलिया पहिचान भइसकेको छ।’

    सुरक्षा विश्लेषकका अनुसार यसरी प्रहरीकैसामू बम भनेर राख्नु उनीहरुले सुरक्षा निकायलाई चुनौती दिएको हो। गेटमा खटिएका प्रहरीले राखेको देखेपनि चासो नदिँदा उनीहरु भाग्न सफल भएका हुन्।

    एमसीसी अनुमोदन भएपछि संसद भवनको एक नम्बर गेटमा सुरक्षाकर्मीको संख्या समेत बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर, शंकास्पद वस्तु राखेको देख्दा त्यहाँ खटिएका प्रहरीले मोटरसाइकल नम्बर समेत टिप्न भ्याएनन्।

    विप्लव समूहले यसअघि पनि बन्दको क्रममा ठाउँ–ठाउँमा यस्ता शंकास्पद वस्तु राख्ने गरेको हुँदा विप्लव समूहका कार्यकर्ताले नै आजपनि शंकास्पद वस्तु राखेको प्रहरीको भनाइ छ।

    घटनाबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। यता, फरार रहेका दुईजना युवाहरुलाई खोज्न काठमाडौं प्रहरीले सो क्षेत्रका सीसीटिभी फुटेजहरु हेर्न सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images