काठमाडौं- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको छ । निर्णयप्रति पार्टीका चार नेताहरूले असहमति जनाएका छन् ।
आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति राखेका हुन् । उनीहरूले व्याख्यात्मक टिप्पणीको विरोध गरेका थिए ।
यी चारजना नेताहरू सुरुदेखि नै एमसीसीको विपक्षमा रहँदै आएका छन् । उनीहरूले सत्ता गठबन्धन बचाउने नाममा देशप्रति घात हुने काम गर्न नहुने बताएका थिए ।
‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
त्यस्तै, एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ । सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए ।
यसअघि, माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल भए सरकार छाड्ने निर्णय गरेको थियो । अन्ततः माओवादी एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएको छ ।
पछिल्लो दुई साता माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका थिए । केही कार्यकर्ता गम्भीर घाइते समेत भएका छन् ।


विश्व खबर 


















