काठमाडौं- एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गराउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए ।
आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै भने, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ । एमसीसी पारित गराउन पनि एमालेको सकारात्मक भूमिका रहने नेता पौडेलले जानकारी दिए ।
बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप एस (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


विश्व खबर 


















