images
images
  • ९ दिनदेखि काठमाडौंको फोहर सडकमै, फोहर नउठ्दा फैलियो दुर्गन्ध

    काठमाडौं- स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ ।

    हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्‍ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको हो ।

    नौ दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।

    अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्‍न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्‍न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।

    ुयस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छु, उनी भन्छन्, “त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।

    सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । हाल बञ्‍जरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्‍न नहुँदा समस्या भएको बताइएको छ ।

    कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालिन समाधन खोज्‍न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ ।

    काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

    हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्‍जरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images