images
images
  • अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध नेताविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएको हो ।

    उजुरीमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार प्रकरणमा छानविन गरी कारवाही गर्न माग गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।

    त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्‍यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ । त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौं रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईमाथि छानविन गरी कारवाही गर्न माग गरिएको छ ।

    अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुलीलगायत अख्तियार केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।

    अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख दाबी गरिएको छ ।

    भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images