images
images
  • आजदेखि काठमाडौं उपत्यकामा जोरबिजार प्रणाली हट्यो, सवारी चलाउँदा स्वास्थ्य मापदण्ड अपरिहार्य

    काठमाडौं-काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाएपनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने गए रातिदेखि हटाइएको हो ।

    आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । ‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘जोरबिजोर हटे पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

    जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने,’ आइतबार जारी सूचनामा भनिएको छ, ‘चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निस्संक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन पाइनेछैन ।’

    लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्नेसमेत सूचनामा उल्लेख छ । कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

    सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ । बैठकले फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images