
काठमाडौं- अष्ट्रेलियामा बस्दै आएका एक जना कानुन व्यवसायीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ गरेको छ । पक्राउलगत्तै प्रहरीको महिला सेल पुर्याइएका उनलाई बयानपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको र तीन दिन थुनिएपछि एक लाख रुपैयाँ धरौटीमा छुुटेको जिल्ला अदालत बबरमहलको प्रशासन श्रोतले बताएको छ ।
आफ्नै श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा काठमाडौं विमानस्थल टेक्नासाथ समातिने वकिल खिलेन्द्रराज तिम्सिना हुन् । उनलाई दुई वर्षअघि श्रीमतीले इच्छाबेगर शारीरिक सम्बन्ध राखेको अभियोगमा गरेको उजुरको आधारमा पक्राउ गरेर अदालत पुर्याइएको हो । जाहेरी २०७६ जेठ ३१ गते कालिमाटीको महिला सेलमा दर्ता गरिएको थियो ।
यसअघि अष्ट्रेलियन नागरिक बनिसकेका उनी उता पनि विवादास्पद भएपछि अष्ट्रेलियन सरकारले कारबाही गरेको छ । तिम्सिना अष्ट्रेलिताबाट आउँदै गर्दा माघ ७ गते अध्यागमनमा समातिएका हुन् । लगत्तै उनलाई सोझै महिला सेलमा पुर्याइएको थियो ।
प्रहरीले बयान र अनुसन्धानपछि उनीविरुध्द माघ १० गते जिल्ला अदालत,काठमाडौंमा मुद्दा दायर गरेको थियो । माघ १२ गते उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
उता अष्ट्रेलियामा पनि उनी कारबाहीमा परेको देखिएको छ । २ जुन २०२० मा अष्ट्रेलियाको आन्तरिक मन्त्रालयले उनको एउटा लाइसेन्स खोसेको छ । नक्कली कागजात बुझाएको आरोप लागेपछि उनले गर्दै आएको व्यवसायको प्रमाणपत्र रद्द गरिदिएको छ ।
अष्ट्रेलियामा आप्रवासनसम्बन्धी परामर्श प्रदान गर्नेहरुको नियमनकारी निकाय माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटी (मारा) ले तिम्सिनालाई लाइसेन्स लिनबाट ५ वर्षका लागि प्रतिबन्ध लगाइदिएको हो । माराले विभिन्न सेवाग्राहीहरुको उजुरीपछि सन् २०१६ देखि अनुसन्धान थालेर दुई वर्षअघि कारवाही गरेको हो ।
सन् २०१७ मा माराले आफ्नो आचरणको सम्बन्धमा अनुसन्धान शुरु गरेपछि,तिम्सिनाले माइग्रेशन एजेन्टको रूपमा दर्ता नवीकरण नगरी खारेजीको निवेदन दिएका थिए । सन् २०२० जुन २ मा अनुसन्धान सकाएर सरकारी निकायले उनलाई माइग्रेसन एजेन्टको रूपमा दर्ता गर्न प्रतिबन्ध लगाएको हो ।
खिलेन्द्रराज तिमल्सिनाले क्यानबेरा र नर्दन टेरिटोरी डार्बिनमा स्टेट स्पोन्सर भीसाका लागि आवेदन दिने क्रममा झण्डै एक दर्जन व्यक्तिको नक्कली कागजात पेश गरेको अभियोग लागेको थियो । उनको कारवाहीबारे माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटीको वेवसाइटमा विस्तृत रुपमा उल्लेख छ ।
उनले आफ्नै एकाउन्टेन्ट नेपाली युवकसँग पीआर दिलाइदिने प्रलोभनमा १५ हजार डलर लिएको र विभिन्न व्यक्तिलाई नक्कली प्रमाणपत्र दिलाइदिएको तथा कतिपयको रकमसमेत फिर्ता नगरेको आरोप लागेपछि अष्ट्रेलिया सरकारको सम्बन्धित निकायले आवश्यक कदम चालेको हो ।
एक पटक क्यानबेराको स्टेट स्पोन्सरशिपका लागि आवेदन दिँदा क्यानबेरामा बसोबास नै नगरेको व्यक्तिलाई समेत नक्कली कागजात पेश गराइदिएका थिए । यस्तो फर्जी काम गरिदिएवापत १२ हजारभन्दा बढी डलर लिएको सरकारी अनुसन्धानले पत्ता लगाएको हो ।
उनी सिड्नी र पूरै अष्ट्रेलियामा पारपाचुके (डिभोर्स) गराउन प्रोत्साहित र माहिर वकिलका नामले प्रख्यात छन् । त्यो कामको निम्ति तिम्सिनाले सन् २०१२ देखि ईपी माईग्रेसन नामक संस्था सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्