images
images
  • साउदी अरेबियामा बिरामी परेका नेपाली श्रमिकको उद्धार

    काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबियाको जेद्धास्थित आफ्नै कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् ।

    शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आज नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनी रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको छ ।

    श्रम सहचारी प्रेम उपाध्याय भाषा अनुवादकसहित दूतावासको टोली लिएर बिरामी राना भएको ठाउँमा गएका थिए । त्यसपछि टोलीले उपचारका लागि स्थानीय अस्पताल लगेको श्रम मन्त्रालयले जनाएको छ ।

    नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठजना नेपाली श्रमिकको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना मंगलबार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकाले एक्जिट भिसाका लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।

    राना बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचारसमेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । रानाको अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिए ।

    मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images