काठमाडौं- सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली सेनाको जंगी अड्डाले उपरथी अनन्त कार्कीमाथि कारबाहीको तयारी गरेको छ।
उपरथी कार्कीले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई उजुरीको बोधार्थसमेत पठाएका थिए। सैनिक ऐनअनुसार उपरथीको कार्यकाल थप्नेरनथप्ने अधिकार प्रधानसेनापतिमा निहित छ।
उपरथी कार्कीको कार्यकाल नथपिएपछि उनले माघ २४ गतेदेखि अवकास पाउँदैछन्। त्योभन्दा १५ दिनअगावै विदामा बस्ने सैनिक परम्परा छ। त्यसैले कार्कीमाथि १र२ दिनभित्रै कारबाही हुन सक्ने सैनिक स्रोतले बतायो।
उहाँले चेन अफ कमाण्डको उल्लंघन गर्नुभएको छ। चित्त नबुझेमा प्रधान सेनापतिलाई पहिला भन्ने हो। त्यसपछि तालुकदार रक्षा मन्त्रालयसमेत छ। तर उहाँ सिधै प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ, सैनिक स्रोतले भन्यो,उहाँले त मिडियाबाजी समेत गर्नुभएको छ। उहाँलाई यस्तै कारबाही हुन्छ भन्न सकिँदैन तर कुनै न कुनै रूपको सांकेतिक कारबाही हुनसक्छ।
पदावधि नथपिएपछि प्रधानमन्त्रीको सचिवालयमा उजुरी
सेनाका उपरथी अनन्त कार्कीको हारगुहार बेकार भएको छ । अझै दुई साता सैनिक सेवा बाँकी रहेका कार्की बढुवा भएर चीफ हुने सपना चकनाचुर मात्रै भएको छैन, सैनिक ऐन र नियमावलीबमोजिम कारबाहीको सम्भावना बढेको छ ।
आफ्नो पदावधि थपको सिफारिस नभएपछि उपरथी कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध बिहीवार उजुरी दिएका थिए ।
उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी मंगलबार उजुरी नै दिएका हुन। कार्कीले प्रधान सेनापति प्रभुराम शर्माले आफूलाई म्याद नथप्न खोजेको भन्दै रक्षामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सेनाको परमाधिपति तथा राष्ट्रपतिसमक्ष उजुर गरेका थिए ।
तर क्याबिनेटले गत पुस ३० गतेको मितिमै कार्कीको म्याद नथप्ने निर्णय गरेको पत्र सैनिक मुख्यालयमा पुगेको छ । कार्कीसँगै म्याद सकिन लागेका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको भने सैनिक मुख्यालयको सिफारिसबमोजिम म्याद थपिएको पत्र पनि प्राप्त भएको उच्च स्रोतले बताएको छ ।
कार्कीले पटक पटक सेनामा चेन अफ कमाण्ड उल्लंघन गरेका थिए । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको फेरो समाएर उनले धेरै वटा गलत कार्य गरेपछि अहिले म्याद नथप्न उनीविरुध्द सबै लागेका हुन् ।
पूर्ववर्ती सेनापतिहरु गौरव समशेर राणा र राजेन्द्र क्षेत्रीहरुले समेत आज सेनापतिलाई फोन गरेर राजनैतिक घरदैलो गर्नेलाई अनुशासनको कार्वाही गर्न सुझाव दिएको बताइन्छ । स्रोतले भनेको छ,‘म्याद नथपेर ठीक गरे,चेन अफ कमाण्ड उल्लंघन गर्नेलाई म्याद थप्न हुँदैन भन्ने पाँच जना पूर्व जर्नेलहरु देखिए ।’यसअघि रथि नेपाल भूषण चन्दको पनि म्याद थपिएको थिएन । तर उनले म्याद नथप्दासमेत चुप लागेर बसेका थिए । त्यतिबेला चन्दले आफ्नो म्याद नथपिने सुईंको पाएपछि उक्त कार्य सैनिक नेतृत्वको अधिकार हो भनेर चित्त बुझाएका थिए । अहिले कार्कीलेझैं संगठनको नियम तोडेर उजुर गरेका थिएनन् ।
तर कार्कीले सेनाको प्रचलित मापदण्ड र अनुशासन उल्लंघन गरेर प्रधानसेनापतिविरुध्द लिखित उजुरी नै हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो ।
सैनिक ऐनमा सैनिक अधिकृतहरुको म्याद थप्न गर्ने वा नगर्ने भन्ने अधिकार सेनापतिलाई मात्र छ । तर कार्कीले प्रधानमन्त्री गुहार्दै मिडियामा गएर च्यालेञ्ज गरेपछि सैन्य नेतृत्व गम्भीर बनेको हो ।
क्याबिनेटबाट कार्कीको म्याद थपाउनको निम्ति भदौमा अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ दलका नेता तथा बहालवाला मन्त्रीलाई भेटेको भन्नेहरु पनि छन् । किनभने थापाको कार्यकालमा कार्की दाहिने हात भएर बसेका थिए । थापाले कार्कीको म्याद थप्न पोहोर चैतदेखि नै कोसिस गरेका हुन् ।
कार्कीको निम्ति थापाले प्रधानमन्त्रीसँग पुस ३० गते बिहान ४५ मीनेट छलफल गरेको बालुवाटार स्रोतको दाबी छ । यता संगठनको हित विपरीत कार्य गरेको,अनुशासनहीन कार्य गरेको भन्दै सैनिक मुख्यालयले कार्कीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । क्याबिनेटको पत्रपछि कार्की अझै दुई साता उपरथीको जिम्मामा रहेनछन् । यहिबीचमा उनीमाथि सैनिक कारबाहीको प्रक्रिया अघि बढ्ने भएको हो ।


विश्व खबर 


















