images
images
  • गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा देउवा पत्नी आरजुमाथि अनुसन्धान

    काठमाडौं- गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

    सम्पत्ति शुद्धिकरण विभागले कांग्रेस नेतृ राणामाथि अनुसन्धान अघि बढाएको हो । विभागले करिब दुई दर्जन नेताहरूविरुद्ध अकूत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ।

    विभागले दुई वर्ष अघिदेखि राणामाथि अनुसन्धान थालेको थियो । राणाविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको विभाग स्रोतले जनाएको छ ।

    देउवा पत्नी राणाविरुद्ध विभिन्न व्यवसाय, आइएनजिओ र एनजिओमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । त्यही आरोपसहित उनीविरुद्ध उजूरी परेको थियो ।

    उक्त उजूरीमाथि अनुसन्धानका क्रममा राणसँग स्रोत नखुलेको सम्पत्ति भेटिएको विभाग स्रोतले जनाएको छ ।

    अनुसन्धानमा करिब दुई अर्ब बराबरको सम्पत्ति भेटिएको हो । ‘स्कुल, शेयर बजार, घरजग्गा र हाइड्रोपावरमा लगानी भएका करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परिसकेको छ ’, विभागको दावी छ ।

    राणाको ललितपुरस्थित खुमलटारमा नेपालकै महंगो शुल्क लाग्ने युलेन्स स्कुल तथा क्याम्पस सञ्चालनमा छ । यस्तै थापाथलीस्थित सेन्टर विजनेस पार्कमा पनि राणाको शेयर रहेको खुलेको छ ।

    विभिन्न हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरुमा राणाको नाममा शेयर भेटिएको छ ।

    यस्तै राणाको एक दर्जन बढी एनजिओमा आवद्धता भेटिएको छ । राणाले गत निर्वाचनमा निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि कैलालीमा घर किनेकी थिइन् ।

    कार्यकर्ता भेटघाटलाई सहज बनाउन घर किनेको उनले स्वीकार गरेकी थिइन् । उक्त घर खरिद स्रोत र आम्दानी स्रोतबीच तालमेल मिलेको छैन ।

    ‘निर्वाचन प्रचार–प्रसारलाई सहज बनाउन घर नै किन्नसक्ने गरि उहाँको आर्थिक स्रोत भेटिएको छैन, त्यस्तो स्रोत थियो भने उहाँले त्यही अनुसार कर तिरेको हुनुपथ्र्यो,’ एक अनुसन्धान अधिकृतले भने, ‘राज्यलाई कर तिरेको छैन, आम्दानीका लागि वैध स्रोत भेटिएको छैन ।’

    देउवाको सम्पत्ति विवरणमा छैन आरजुको सम्पत्ति
    पछिल्लो पटक प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर, उक्त सम्पत्ति विवरणमा देउवाले श्रीमतीको नाममा रहेको कुनै पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

    तर, प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको सम्पत्ति विवरणमा आरजु राणाको नाममा कुनै पनि सम्पत्ति देखाएका छैनन् ।

    देउवाले सम्पत्ति विवरणमा डडेलधुरामा बुबाको नाममा ५६ रोपनी जग्गा, कञ्चनपुरमा १० विगाहा, असर्फी १० थान, सिक्री, औंठी लगायतका विवरण समावेश गरेका थिए ।

    यस्तै, उनले बैंकमा जम्मा १६ लाख ५० हजार रहेको विवरण सार्वजनिक गरेका थिए । श्रीमती आरजुको नाममा कुनै पनि सम्पत्ति सार्वजनिक नगरेका देउवाले आफू बस्दै आएको बुढानीलकण्ठस्थित घर र जग्गाको विवरण पनि लुकाएका थिए ।

    के छ कानूनमा ?
    भ्रष्टाचार निवारण एन २०५९ ले सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । ऐनको दफा १६ मा सम्पत्ति विवरण पेश गर्दा झुट्टा विवरण दिन नहुने उल्लेख छ ।

    यदि कुनै विवरण झुट्टा दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    दफा १६ को उपदफा २ मा सम्पत्ति विवरण बुझाउँदा आफ्नो नाममा वा अंशमा हक लाग्ने वा एकासगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्तिभन्दा बढाई वा भए रहेको सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण दिएमा निजलाई एक महिनादेखि तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । यसरी लुकाई छिपाई राखिएको सम्पत्ति समेत जफत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images