images
images
  • माओवादी महाधिवेशन: सर्वसम्मत नेतृत्व चयन गर्न बन्दसत्र स्थगित

    काठमाडौं-माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो ।

    पार्टीको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास सफल नभएपछि नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।महाधिवेशनको सातौं दिन शनिबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि त्यसले मुर्तरुप लिन नसकेपछि बन्दसत्र लम्बिएको हो । यसअघि शनिबार राति नै निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी कार्यतालिका समेत प्रकाशित भइसकेको थियो । तर, नेताहरुबाट सर्वसम्मत रुपमै नेतृत्व चयनका लागि थप प्रयास गर्ने धारणा आएपछि साँझमा बन्दसत्र स्थगित गरिएको थियो । त्यसपछि केन्द्रीय निर्वाचन आयोगले पुरानो कार्यतालिका रद्द गरी निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको छ ।

    सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले यसअघि प्रकाशित निर्वाचन कार्यातालिका रद्द गरिएको बताइएको छ । माओवादी केन्द्रको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिका अनुसार सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य भइरहेको छ । निर्वाचनको नयाँ कार्यतालिका अनुशार अब आइतबार २ देखि साढे तीन बजेसम्म उम्मेदबारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरिएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएमा आइतबार साँझ ६ः१५ बजेदेखि १०ः२५ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

    271155193 117876800744194 6232165177043719503 nशनिबार नै माओवादी केन्द्रको खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना पनि सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय समिति दुई सय ९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा त्यो सँख्या बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

    खुलातर्फ एक सय ४५ जना निर्वाचित हुनेछन् । यसैगरी समानुपातिकतर्फ एक सय ५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टाछुट्टै निर्वाचन हुनेछ । महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने प्रावधान राखिएको छ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने बताइएको छ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

    बन्दसत्रले शनिबार नै स्थायी समिति सदस्य देव गुरुङद्वारा प्रस्तुत विधान मस्यौदा पनि पारित गरेको थियो । विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुंगो लगाउन साँझ पाँच बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको थियो । त्यसअघि दिउँसो बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमतिका लागि पाँच बजेसम्मको समय मागेका थिए । यदि सहमति नजुटे निर्वाचनमा जान सकिने उनले बताएका थिए । तर, सिट सँख्याभन्दा अकांक्षी बढी भएका कारण शनिबार अन्तिम समयसम्म प्रयास गर्दा पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको बताइएको छ ।

    यसरी चयन हुँदैछन् २९९ केन्द्रीय सदस्य, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला अनिवार्य

    maobadi mahadhibeshan

    माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि क्लस्टर विभाजन गरिएको छ । २९९ केन्द्रीय सदस्यका लागि १४५ जना खुलाबाट र बाँकी समानुपातिक, समावेशी तथा मनोनयनबाट ल्याउने गरी निर्वाचन समितिले क्लस्टर विभाजन गरेको छ ।

    जसका लागि केन्द्रीय सदस्यमा कुल संख्याको ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको छ । युवाको रुपमा भने ४० वर्षमुनिको उमेर समूहका लागि भनी व्याख्या गरिएको छ ।
    निर्वाचन समितिले शनिबार विभिन्न ९ समूहको क्लस्टर बनाएर उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसअन्तर्गत खुलातर्फ १४५ जना, खसआर्यतर्फ ४५ जना, दलितबाट २२ जना, मुस्लिमबाट ७ जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातिबाट ४३ जना, थारुतर्फ १०, अपांगतर्फ २ जना र पिछडिएको वर्गबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    माओवादीको विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछन् । त्यसमध्ये ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको यो पहिलोपटक हो । शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images