काठमाडौं- दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू-भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक शुक्रबार दिउँसोदेखि हिमपात शुरू भएको कालिञ्चाकका एक होटल व्यवसायीले बताए ।
हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ ।

कसरी जाने ?
काठमाडौंबाट कालिञ्चोक पुग्न गाडीमा करिब पाँच घण्टा लाग्छ। त्यसपछि केबलकार चढेर पाँच मिनेटमै मन्दिर पुगिन्छ। सोही दिन दर्शन गरेर फर्कन पनि सकिन्छ। अहिले केबलकारको भाडा पाँच सय रूपैयाँ छ, विदेशीले भने एक हजार रूपैयाँ तिर्नुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक र अपांगतालाई २५ प्रतिशत छुटको व्यवस्था छ।
कालिञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने विश्वास छ। हरेक वर्ष जाडो याममा विशेष गरी नेपाल र भारतबाट भक्तजन आउनुहुन्छ।’
दोलखाको चरिकोट बजारको उत्तरपूर्व १८ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ। काठमाडौंदेखि कालिञ्चोक भगवतीको दर्शन गर्न भक्तजनहरू कुरीबाट केबलकार नचढी सहजै भगवतीको मन्दिरसम्म पुग्ने भएकाले पनि यात्रा छोटो र सहज छ। यति मात्र होइन, त्यहाँ पुग्ने पर्यटकले विश्वकै प्रसिद्ध हिमालहरू गौरीशंकर, दोर्जे–लाक्पा, लाङटाङ, लिरुङ लगायतको मनमोहक दृश्य क्यामेरामा सजिलै कैद गर्न सक्छन्।








विश्व खबर 



















