images
images
  • सुदूरपश्चिमको प्रसिद्ध ‘देहिजाँत’ मेला आज र भोलि

    डडेल्धुरा – डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा बिहीबार र शुक्रबार मेला लाग्ने भएको छ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मेला लाग्छ।

    हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरू भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

    उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउँछन्।

    उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका मेलामा हुन सक्ने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य वस्तु बिक्री तथा वितरणमा रोक लगाउने समितिको निर्णय छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images