images
images
  • स्वास्थ्य संकटकालबीच पनि टोकियो ओलम्पिकको तयारी तीव्र

    काठमाडौं । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ ।

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वउपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा संकटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन् ।

    अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो ।

    प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि संकटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र संक्रमित भएकाहरुको संख्यामा वृद्धि हुँदै आएको अधिकारीहरुले जनाएका छन् ।

    अष्ट्रेलिया ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका कोट्सले भर्चुअल माध्यममार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको जानकारी दिए ।

    प्रतियोगिताका आयोजकहरुमध्येका सरोकारवालाहरुसँग भएको तीनदिने बैठकपछि उनले स्वास्थ्यविज्ञहरुको सल्लाहानुसार तयारीका कामहरु भइरहेको बताए । त्यसैगरी, विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images