images
images
  • ‘एनआरएन महाधिवेशन डिसेम्बर तेस्रो साता हुने, सदस्य शुल्क नतिर्ने एनसीसीले महाधिवेशनमा सहभागी हुन नपाउने’

    सिड्नी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर तेस्रो साता हुने भएको छ।

    विवाद र राजनीतिले उग्ररूप लिएपछि अनिश्चत बनेको महाधिवेशनको नयाँ मितिबारे जानकारी दिँदै अध्यक्ष कुमार पन्तले डिसेम्बर तेस्रो साता काठमाडौंमा महाधिवेशन हुने दाबी गरेका हुन्।

    ‘कार्यसमितिका साथीले संयोजनको जिम्मा अध्यक्षको नाताले मलाई दिनुभएको थियो। सबै काम सकिएपछि निर्वाचन समितिलाई डिसेम्बरको तेस्रो साताको मिति तोकेर निर्वाचन तालिका प्रकाशित गर्न पत्राचार गरेको छु’, अध्यक्ष पन्तले सेतोपाटीसँग भने, ‘सम्भवत उहाँहरूको बैठक बसेर एक दुई दिनमै सम्पूर्ण निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुहुनेछ।’

    उनले डिसेम्बर तेस्रो साता हुने महाधिवेशनका लागि आयोजनास्थललगायत अन्य काम तय भइसकेको जानकारी दिए।

    यसअघि अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना हुनुपर्ने महाधिवेशन राजनीतिक हस्तक्षेपले अनिश्चितकालका लागि रोकिएको छ।

    ‘महाधिवेशन प्रतिनिधिका विषयमा विवाद भयो भनेर केही साथी परराष्ट्रमा निवेदन दिनुभएको थियो, तर हामीले विधि विधान र संघको काम कारबाहीका बारेमा परराष्ट्र मन्त्रीज्यूलाई छर्लङ्ग हुनेगरी लिखित दस्तावेज र प्रतिवेददन समेत बुझाएका छौं’, उनले भने,‘उहाँले पनि त्यसलाई सकारात्मक रूपमा लिनुभएको छ।’

    उनले संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जिवा लामिछाने, भवन भट्ट र आफू स्वयम् परराष्ट्रमन्त्री खड्कालाई भेटेर पछिल्ला गतिविधिका बारेमा जानकारी गराएको बताए।

    ‘असन्तुष्ट पक्षका केही साथीकै सल्लाहमा संघका पदाधिकारी बसेर समाधानका लागि एउटा प्रतिवेदन तयार पारि मन्त्रीज्यूलाई बुझाएका छौं। उहाँले त्यसलाई सकारात्मक रूपमा लिनुभएको छ’, उनले भने, ‘परराष्ट्रको मुख्य चासोको रूपमा रहेको विद्यार्थीको सहभागिता र ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ समितिले छान्ने कुराको निर्क्यौल हामीले विधान र नियमावलीसमेत बुझाएर क्लीयर पारिसकेका छौं।’

    संघलाई यस्ता झिना मसिना कुरामा अड्काएर अनिर्णयको बन्दी बनाउन नहुने आफूहरूको निष्कर्ष रहेको भन्दै पन्तले निर्वाचन प्रकृयालाई अगाडि बढाएका बताए।

    ‘संघ अब निर्वाचनको बाटोमा अगाडि बढिसकेको छ। मेरो र यस समितिको प्रमुख जिम्मेवारी भनेको संस्थालाई सबैको समझदारीमा विधि विधान बमोजिम साधारणसभा सम्पन्न गर्नु पनि हो, त्यसैले यसको निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेर संस्थालाई जिवन्तता दिने कुरामा अगाडि बढेको हुँ’, पन्तले भने।

    विवाद र परराष्ट्रका विषयमा उनले संस्थाको तर्फबाट सबैखाले जवाफदेहिता पुरा गरिसकेको दाबी गरे।

    उनले केही मुलुकले सदस्यता शुल्क नबुझाएको भन्दै शुल्क नबुझाउनेलाई महाधिवेशनमा सहभागि नगराइने स्पष्ट पारे।

    ‘केही मुलुकले सदस्यता शुल्क बुझाउनुभएको छैन, हामी अब केही दिनको समय तोकेर बुझाउनका लागि पुनः पत्राचार गर्नेछौं, बुझाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु, यदि बुझाउनु हुन्न भने महाधिवेशनमा उहाँहरुको सहभागिता यस पटक रहने छैन त्यो पक्का हो’, उनले भने।

    विधि र विधान सबैलाई समान हुने भन्दै उनले शुल्क नपठाउने मुलुलाई अब अन्तिम पटक पत्र पठाउने बताए। ‘अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत र अन्य दुई देशले शुल्क उठाएर पनि केन्द्रमा बुझाउनुभएको छैन। हामीले धेरै पटक पत्राचार गरिसकेका छौं, अबको पत्र अन्तिम हुनेछ,’ पन्तले विधानको पालना नगर्नेलाई कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिए।

    सदस्यता शुल्क नतिर्नुका साथै २५ प्रतिशत महाधिबेशन प्रतिनिधि छनोटमा विधान विपरित काम गर्ने मुलुकमा अस्ट्रेलिया, अमेरिका र बेलायत छन्।

    यसैबीच निर्वाचन समितिका सदस्य सचिव भुषण घिमिरेले निर्वाचनको मिति तोक्न अध्यक्ष कुमार पन्तले पत्राचार गरेको र बिहिबार निर्वाचन समितिको बैठक बोलाइएको उनले बताए । -सेतोपाटी

    प्रतिक्रिया दिनुहोस्
    images
    images