सरला सुनुवार, सिन्धुली
सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएपछि गढी घुम्न आउनेहरूको संख्या बढ्न थालेको छ । सिन्धुलीको बिपी राजमार्ग, नागबेली बाटो, पूर्वपश्चिम सवारी साधन गुडीरहेका छन् । झ्यालबाट देखिने मनमोहक दृश्यले ठाउँ ठाउँमा यात्रुहरू रोकिन्छन् । खनियाँ खर्क आसपास लटरम्म फलेको जुनार अनि नजिककै रहेको पर्यटकीय स्थल सिन्धुलीगढी देखेर मन लोभिनु स्वाभाविक हो । जुनार उत्पादनको पकेट क्षेत्र र ऐतिहासिक सिन्धुलीगढी युद्धको कारण सिन्धुलीगढीको छुट्टै महत्व रहेको छ ।
सिन्धुलीगढी आसपास हरियाली वन जङ्गल, चिसो हावा, कुहिरो सँग लुकामारी गर्दै चराचुरुङ्गीहरू कराई रहन्छन् । नेपालको चन्द्र सूर्य अङ्कित झण्डा सिन्धुलीगढीको डाँडामा फरफराई रहेको छ । वीर योद्धाहरूको सालिक सिन्धुलीगढी घुम्न आउनेहरू सँग बोलौला झैँ गर्छन् । अनि सिन्धुलीगढी युद्ध संग्रहालय भित्र घण्टौँ वीर योद्धाहरूको गाथा र वीरता पढ्नेहरू सालिकलाई सलाम गर्दै सेल्फी खिचेर फर्कन्छन् । छुट्टिमा परिवार लिएर घुम्न जानेहरुदेखि लिएर चाडपर्व मनाउन गाउँ फर्केकाहरू रमाइलो गर्न त्यहीं पुग्छन् । पूर्वपश्चिम आवतजावत गर्ने लामो दुरीका सवारी साधनका कतिपय यात्रुहरू समेत एकै छिन भए पनि थकाई मार्न सिन्धुलीगढी मै रोकिन्छन् । बाहिर जिल्लाबाट विद्यार्थीहरु शैक्षिक भ्रमण अवलोकनका लागि आउने गरेका छन् ।
नवलपुर कावासोती नगरपालिका ४ का राम प्रसाद भुसाल श्री सरस्वती नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । उनी कार्तिक १३ गते शनिवार शिक्षक सहित ५० जना विद्यार्थी साथीहरुसँग सिन्धुलीगढीमा शैक्षिक भ्रमणको लागि आएका थिए । पुर्खाहरूले आफ्नो देश बचाउन युद्ध गरेर सफलता प्राप्त गरेको स्थल सिन्धुलीगढीको बारेमा किताब पढेर जानकारी पाएका उनले प्रत्यक्ष आफ्नै आँखाले वीर योद्धाको बारेमा हेर्ने र देख्ने मौका पाएकोमा खुसी लागेको बताए । जितको प्रतिबिम्ब छोडेर जाने वीर योद्धाहरूलाई हेरेर आफूले पनि शिर नझुकाउने सन्देश लिएर फर्कने उनको भनाई थियो ।
उदयपुरदेखि काठमाडौँ हिँडेका राम बस्नेत सिन्धुलीगढी युद्ध सङ्ग्रहालय अवलोकन गरी सकेपछि पुर्खाहरूको इतिहास जीवितै भएको बताउँछन । पुराना पौराणिककालमा वीर योद्धाहरूले युद्धकलामा प्रयोग गरेका हातहतियार लगायत उनीहरूले गरेको कार्य र योगदान झल्काउने तस्बिरहरू र सिन्धुलीगढीको सुन्दर दृश्यले उनलाई सिन्धुलीगढीमा रोकिन मन लागेको बताए । बिपी राजमार्ग हँुदै पूर्वपश्चिम आउँदा जाँदा बस्नेत साथीहरूसँग दोस्रो पटक सिन्धुलीगढी भ्रमणको लागि आई पुगेका थिए ।
त्यस्तै गोरखाबाट पहिलो पटक सिन्धुलीगढी गुम्न आई पुगेका अमित रायमाझी सिन्धुलीगढी पर्यटन प्रवद्र्धनको लागि राम्रो सम्भावना भएको बताउँछन । पुर्खाहरूले युद्ध गरेर जोगाएको ठाउँको संरक्षण गर्ने दायित्व सबैको भएकोले देशको धेरै ठाउँहरूमा यस्ता इतिहास बोकेको स्थलहरू थुप्रै भएकोले संरक्षण गर्न आवश्यक भएको उनको भनाई थियो ।
सिन्धुलीकै मनिका मगर श्रीमान्सँग सिन्धुलीगढी घुम्न पुगेकी थिइन् । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएपछि सिन्धुलीगढी घुम्न पुगेको उनी दङ्ग थिइन् । उनको श्रीमान् अमर बहादुर थापाले सिन्धुलीगढीको इतिहास बारेमा सुनेका मात्र थिए । आफ्नै आखाँले इतिहासलाई प्रत्यक्ष नियाल्न पाउँदा मगर असाध्य खुसी थिए । उनलाई अब सिन्धुलीगढीको दृश्यले बारम्बार तानी रहने बताए ।
कमलामाई नगरपालिका ३ की कृष्ण कुमारी श्रेष्ठ बर्षौ देखी सिन्धुलीगढीको गेटमा ठेलामा पसल गर्दै आई रहेकी छिन् । सिन्धुलीगढी गुम्न आउनेहरूको चहलपहल बढे सँगै उनको व्यापार व्यवसाय फस्टाएको छ । आफ्नो दैनिकीमा सिन्धुलीगढीले फेरबदल ल्याएकोमा उनी खुसी छिन् । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माणले सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको उनको भनाई थियो ।
कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा नेपाली सेनाले झन्डै ७ करोडको लगानीमा सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण गरी २०७८ श्रावण १३ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरेको थियो । अहिले कमलामाई नगरपालिका सिन्धुलीको महतमा सिन्धुलीगढीको संरक्षण र प्रवद्र्धधन भइरहेको छ । साउन महिनादेखि नै सर्वसाधारणको लागि खुल्ला गरिएको सिन्धुलीगढी युद्ध सङ्ग्रहालय अहिलेसम्म करिब ६० हजार नागरिकले अवलोकन गरिसकेको कमलामाई नगरपालिका सिन्धुलीका प्रशासन साखाका प्रमुख सागर ढकालले बताए ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा वीर योद्धाहरूले युद्धमा प्रयोग गरेका हातहतियारहरू वीर योद्धाहरूको परिचय र महत्व झल्काउने तस्बिर लगायतको सामाग्रीहरु राखिएका छ । सिन्धुलीगढीमा भएको युद्धमा गोरखाली फौजले वि.स. १८२४ असोज १५ गते कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो । जाइ कटक नगर्नु, झिकी कटक गर्नु भन्ने सिद्धान्त लिएका गोरखाली सेनाले सिन्धुलीगढीको युद्धमा वैरीलाई परास्त गरी ऐतिहासिक सफलता प्राप्त गरेका थिए । १६०० कम्पनी सेनाहरू त्यस युद्धमा मारिए भने पराजित कप्तान किनलक आफ्ना बचेका करिब ८०० सेनाहरू सहित भागेर गएका थिए । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत निर्माण भएको हो ।


विश्व खबर 























