images
images
  • उद्यम र उद्यमशीलता: सफल उद्यमी बन्न तपाईमा हुनुपर्छ यस्ता गुणहरू

    काठमाडौं- कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो। यसमा व्यापार वा व्यवसाय सम्बन्धी  सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ। उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ।

    उद्यमशीलतालाई देशको आर्थिक विकासको मेरुदण्ड किन मानिन्छ ?

    उद्यमशीलताले उद्यमीलाई आर्थिक रूपमा सबल बनाउँछ नै, यसले देशको आर्थिक विकासमा पनि ठूलो सहयोग गर्दछ।

    उद्यमशीलताले उत्पादकत्व बढाउँछ।

    रोजगारीको सिर्जना गराउँछ।

    नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ। उद्यमी हुनु भनेको आफ्नो मालिक आफैँ हुनु हो। उद्यमीले व्यवसाय सुरु गरी विचारको सिर्जनाबाट चुनौतीलाई अवसरमा परिणत गर्छ। उद्यमी एउटा सर्जक हो भने उद्यमशीलता सिर्जना हो।

    उद्यमीका महत्त्वपूर्ण विशेषताहरु:

    नयाँ व्यवसायको सिर्जना।

    व्यवसायलाई आवश्यक समय तथा प्रयास।

    जोखिम बहन।

    उच्च उपलब्धिको चाहना।

    सृजनशीलता तथा नवप्रवर्तन र पुरस्कारका रूपमा नाफाको अपेक्षा।

    यस अर्थमा समग्र रूपमा उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन।

    उद्यम सुरु गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु:

    आफूले जानेको सीप, काम वा व्यवसाय के हो ? त्यो एकिन गर्ने।

    आफूलाइ गर्न मन लागेको र गर्न सक्ने कामको लागि आवश्यक सीप, ज्ञान जान्नको लागि कुनै तालिम लिने वा कोही पुराना उद्यमीसंग सरसल्लाह गर्ने।

    आफूले गर्न लागेको उद्यमको बारेमा परिवारमा सरसल्लाह गर्ने।

    उद्यमको लागि लाग्ने लगानी, त्यसबाट हुने आम्दानी र खर्चको अनुमानित हिसाब निकाल्ने।

    उद्यम सुरु गर्न आवश्यक लगानीको स्रोत एकिन गर्ने।

    उद्यमको परियोजना विश्लेषण गर्ने र व्यवसायिक योजना निर्माण गर्ने।

    तपाईले गर्ने उद्यममा के कस्ता कानून छन्, ती सबै राम्रोसंग अध्यन गर्नुपर्छ। कानून नबुझेर गल्ती गर्नुभयो भने पनि कानूनले तपाईलाई छाड्दैन।

    एउटा सफल उद्यमी बन्नको लागि धेरै गुणहरुको आवश्यकता पर्दछ। विभिन्न अध्ययनहरुका अनुसार सफल उद्यमी बन्नको लागि केही नभई नहुने गुणहरू हुन्छन्, जसमध्य केही निम्नअनुसार छन्।

    लगाव (प्यासन): उद्यमीले आफ्नो रुचीको क्षेत्रमा उद्यम/व्यावसाय गर्दै छ भने लगाव अनि निरन्तरता दिन सक्छ, जसले गर्दा व्यवसायलाई उचाइमा लैजान मद्दत पुग्छ। त्यसैले उद्यम वा व्यवसाय गर्नको लागि इच्छा भएर मात्र हुँदैन। “म गर्न सक्छु।” भन्ने दृढता पनि हुन जरुरी छ।

    आत्माविश्वास: उद्यमीले अनुभवीहरुको सल्लाह लिन जरुरी हुन्छ। तर, आफू प्रति विश्वास नभई अरूले भनेको कुरालाई सही मानेर व्यवसाय गर्दा घाटामा जाने सम्भावना धेरै हुन्छ। त्यसैले उद्यमीले आफू सफल हुन्छु र म गर्न सक्छु भन्ने पूर्ण विश्वासका साथ आफ्नो कामलाई निरन्तरता दियो भने मात्र सफल बन्न सकिन्छ।

    निरन्तरता: सनोतिनो समस्याले आत्तिनु हुन्न, व्यवसाय सुरुमा घाटामा गएपनि आफू सक्दो प्रयास गरी धैर्य गरेमा सफल बन्न सकिन्छ। सबै काम योजना बनाएर गर्नुपर्छ।

    दुरदर्शीता: नयाँ अवसरका साथै जोखिम तथा अनिश्चितता पनि पहिले नै अनुमान गर्न सक्ने हुनुपर्छ। जसले गर्दा आइपर्ने चुनौतीहरू हटाउनका लागि पहिलेनै तयारी गर्न सकिन्छ। कही अवसरहरुबाट फाइदा पनि लिन सकिन्छ।

    धैर्यता: कुनै पनि समस्या आइपरेमा धैर्यताका थाय राम्रोसंग समाधान गर्न सक्ने हुनुपर्छ। छिटै नाफा खोज्ने अनि घाटा भयो भन्दैमा निराश हुने हुनुहुँदैन। साथै उत्पादन गरेको वस्तुको प्रचारप्रसार पनि गर्दै जानुपर्छ।

    परिवर्तनशीलता: समय, ग्राहकको चाहना अनि माग अनुसार व्यवसायनै बदल्न सक्ने हुनुपर्छ। जस्तै: तपाई पुस्तौदेखि चली आएको दौरासुर्वल सिलाउने व्यवसाय गरिरहनु भएको छ भने अहिलेको समय र मागअनुसार सुट, पेन्ट पनि सिलाउनु पर्ने हुनसक्छ।

    सही व्यावस्थापनको सिप: खास गरी पैसाको सही सदुपयोग गर्नुपर्छ, त्यसका साथसाथै मेसिनरी समान, कर्मचारी, ग्राहक, आदि सबै कुराहरूलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले व्यवस्थापन गर्न सक्ने हुनुपर्छ।

    सिर्जनात्मक सिप: नयाँ उपाय, नयाँ काम गर्ने तरिका, नयाँ प्रविधि आदिको बारेमा सामान्य मानिसभन्दा धेरै सक्रिय भएमा धेरै ज्ञान लिन सकिन्छ। नयाँ कुराको खोजी गर्ने, नयाँ वस्तुको उत्पादन गर्ने जस्ता कुरामा पनि सक्रिय हुनुपर्छ। प्रतिस्पर्धा गर्नेहरुबाट सकेसम्म फाइदा लिने कोसिस गर्नुपर्छ।

    जोखिम उठाउन सक्ने क्षमता: व्यवसाय/उद्यममा जति धेरै जोखिम उठाउन सकियो, त्यति नै नाफा लिन सकिन्छ। जोखिम उठाउन डर मान्ने हो भने व्यवसाय घाटामा पनि जान सक्छ। तर जोखिम उठाउने भन्दैमा फाइदा नहुने ठाउँमा पनि जोखिम उठाउनु हुँदैन।

    कुराकानी गर्ने कला: कुशल उद्यमीसंग कुरा गर्ने राम्रो कला हुनु जरुरी छ, जसले गर्दा ग्राहकको ध्यान खिच्न सकिन्छ। खासगरी ग्राहकहरुसंग मिठो बोल्नुका साथै राम्रो व्यवहार पनि गर्नुपर्छ। वस्तुहरू उत्पादन गर्दा आफ्नो फाइदाको लागि नभई ग्राहकको फाइदाको लागि भन्ने सोचेर उत्पादन गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images